२०८३ साउन २१ गते बिहीबार

सूर्यदर्शन सहकारी ठगीः सरकारी वकिलको बहस सकियो, भोलिदेखि जाहेरवालाका वकिलले बहस गर्ने

सूर्यदर्शन सहकारी ठगीः सरकारी वकिलको बहस सकियो, भोलिदेखि जाहेरवालाका वकिलले बहस गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १७ गते बुधबार ०६:१३

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिनको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो । सरकारी वकिलकातर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । यसअघि मंगलबार सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् । योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरुको बहस सकिएको छ ।

भोलिदेखि जाहेरवालाको तर्फबाट बहस हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने खनालले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ०६:१३

हजुरको प्रतिक्रिया