गोरखा ।
खाद्य स्वच्छता, उपभोक्ता हित र गुणस्तर सम्बन्धी सचेतना जगाउने उद्देश्यले मंगलबार गोरखामा सरोकारवालाहरुसँग अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरुका बारेमा जानकारी गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली तनहुँ तथा जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनामा एक दिने उक्त अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम भएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाको सभाहलमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, विभिन्न मार्ट, डिपार्टमेन्ट स्टोर तथा किराना व्यवसायी सञ्चालकहरु सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निरीक्षण अधिकृत चित्राङ्गत बरालले बेला बेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुगमन भईरहने र व्यवसायीलाई खाद्य गुणस्तर सम्बन्धी हुनपर्ने आवश्यक कुरा खाद्य लेवल, गुणस्तर, ब्राण्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमका बारेमा जानकारी हुन आवश्य रहेको बताए । उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमका बारेमा व्यवसायीलाई जानकारी भएमा बेला बेलामा भैरहने अनुगमनका क्रममा दण्डित हुन नपर्ने समेत बताए ।
कार्यक्रमका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बजारलाई व्यवस्थित, अनुशासित, मर्यादित, सस्तो, सर्वसुलभ, उपभोक्तामैत्री र स्वस्थ्यकर बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको बताए । अनुगमन गर्दा बेला बेला असझदारी पैदा हुने गरेको र त्यसको व्यवस्थाप गर्न अन्तरक्रिया गरिएको उनको भनाई थियो । सरोकारवाला निकायले उपभोक्ताको हित गर्दै र व्यवसायलाई पनि सुरक्षित गर्दै प्रभावकारी अनुगमन गर्नेपर्नेमा जोड दिनुपर्ने उनको भनाई थियो ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केले बजारमा देखिएको समस्याबारे अन्तरक्रिया गर्दा उपभोक्ता र व्यापारी दुवै पक्षलाई सुरक्षित बनाउने बताए । उनले यस्ता अन्तरक्रिया र तालिमले व्यापारीको पनि क्षमता अभिवृद्धि हुने र ज्ञानको दायरा बढ्ने भएकोले महत्वपुर्ण कार्यक्रम भएको धारणा राखे ।
कार्यक्रममा प्रमुख प्रस्तोता एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन नियमका बारेमा व्यवसायीलाई जानकारी गराएका थिए । उनले खाद्य स्वच्छतामा असर पार्ने तत्व, खाद्य पदार्थमा हुने मिसावटले मानव स्वास्थ्यमा पर्ने असर, खाद्य स्वच्छता कायम गर्न खाद्य तथा किराना व्यवसायीले ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी सहित सहभागिका गुनासो सम्बोधन गरेका थिए ।
प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०३:५३




