लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका–४, रम्घा, दुईपिप्लेमा प्रथम मध्यनेपाल महोत्सव समारोहको उद्घाटन भएको छ ।
मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेले मध्यनेपाल महोत्सवको बुधबार उद्घाटन गरेका छन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख पाण्डेले मध्यनेपाल केबल मध्यनेपालबासीको मात्र नभई सबैको भएको बताएका छन् । महोत्सवमा देखिएको अत्यन्तै उत्साहजनक उपस्थितिले मध्यनेपाल सबैको मध्य केन्द्र रहेको प्रमाणित भएको बताए ।
नगरप्रमुख पाण्डेले महोत्सव व्यापारिक कुरा मात्र नभएर स्थानीय संस्कृति र सभ्यताको पहिचानसँग जोडिएको बताए । संस्कृति र सम्भताबाट नै सभ्य समाज निर्माणमा सहयोग पुग्ने भएकोले महोत्सवमा आउने आगन्तुकलाई महोत्सवले अतिथिको व्यवहार गर्नुपर्ने उनले उल्लेख गरे । उनले मध्यनेपाल महोत्सव नेपालको मध्य भागमा रहेकोले सबैको भएको र सोही अनुसार लाग्न आग्रह गर्दै सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरे ।
मध्यनेपालमा भएका स्थानीय कला, संस्कृति, सभ्यता र स्थानीय धार्मिक एवं पर्यटकीय स्थलको समेत अवलोकन गर्ने वातावरण महोत्सवबाट बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख पाण्डेको भनाई थियो । आर्थिक मन्दिको प्रभावले सुस्ताएको व्यवसायलाई माथि उठाउने, स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयको जीवनस्तरमा सुधार ल्याउन महोत्सव गरिएको अयोजकको भनाइ छ । माघ ४ गते सम्म सञ्चालन हुने उक्त महोत्सवको उद्घाटन सत्रमा निकालिएको बाजागाजा सहितको झाँकीमा उत्साहजनक रुपमा हजारौंको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार ०७:३३




