पोखरा ।
पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य आइसोलेसनमा बसेका छन् ।
फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते भएका आचार्य चिकित्सकको सल्लाहमा आइसोलेसनमा बसेका हुन् ।
बिहीबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएतापनि यो अवधिमा भेटघाट र बोलचाल नगर्न चिकित्सकले सुझाएको आचार्यले उल्लेख गरेका छन् ।
यसैबिच, बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरी गर्ने शर्तमा बिहीबार हिरासत मुक्त भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको थियो ।
फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा बेलुन विस्फोट भएको थियो ।
हाइड्रोजन ग्यास भरिएका ती बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।
उनीहरु दुवै जना कीर्तिपुर अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनाको छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०७:०४




