२०८३ साउन २१ गते बिहीबार

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०७:२१

गएको पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए ।

सरकारको निर्णयको चौतर्फी विरोध

 

काठमाडौं ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टिकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो । सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

गएको पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए ।

घिसिङले कार्यसम्पादन सम्झौता अनुसार तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेश गरेका थिए ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

घिसिङको दोस्रो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सरकारले हटाउने निर्णय गरेको हो ।

यसैबीच कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।

सत्तारुढ दल कांग्रेसकै नेताहरुले यसको विरोध गरेका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमै पनि कुलमानलाई हटाउने निर्णयमा असहमति जनाएका थिए ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

यता घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०७:२१
हजुरको प्रतिक्रिया