पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट लोक सेवा आयोग परीक्षा दिने एक नक्कली परिक्षार्थी पक्राउ गरेको छ ।
शनिबार बिहान ८ बजे देखि पोखरा–७ पार्दीको लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवनमा सञ्चालन भएको परीक्षाबाट एक नक्कली परिक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनकाअनुसार शनिबार नेपाल प्रहरीको विज्ञापन नं. ०३/०८१/०८२ प्रहरी जवान (जनपद) पदको लिखित परिक्षा भइरहेको थियो । परीक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको भन्ने सूचनाका आधारमा छानविन गर्दा नक्कली परीक्षार्थी पाइएको डीएसपी शर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा धनकुटा पाख्रीबास नगरपालिका– ५ बस्ने १९ वर्षीया ज्ञानुता विश्वकर्मा भएको प्रहरीले जनाएको छ । उनलाई आरती कुमारी मण्डलको नाममा परिक्षा दिँदै गरेको अवस्थामा परीक्षा हलबाटै पक्राउ गरिएको डीएसपी शर्माले बताए ।
उनीविरुद्ध जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०७:४९




