म्याग्दी ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याक खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गरेका थिए ।
म्याग्दीका तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरु प्रशंसनीय भएको बताए । यसैबीच मृगौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ ।
बि.स २०८१ साल मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्ड सहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्ला अन्तरगत म्याग्दीका सञ्चारमाध्यमहरुलाई सुविधाको माग सहित विभिन्न कार्यक्रमहरु गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने नाराकासाथ आयोजित प्रभातफेरी रत्नपार्क शान्तिकाबाट सुरू भइ भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । त्यसअवसरमा प्रेस तथा अभिव्यक्तिका लागि समयमा भएका सङ्घर्षमा योगदान गर्ने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव प्रकट गरियो ।
सोअवसरमा अग्रज पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा महासङ्घले देशभरकै पत्रकार अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्दै आएकामा अघिल्ला वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको बताइन्।
उनले अहिले पनि दण्डहिनताको अवस्था कायमै रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की व्यहोर्नुका साथै वस्थापित हुनुपरेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेकाले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन् ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष एवं रमेश विष्ट र काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याललगायतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएको आन्दोलनको अग्रमोर्चामा रही योगदान पु¥याएको नेपाली पत्रकारिताले आवाजविहीनका आवाजका रूपमा काम गरि रहेको समेत स्मरण गराए। उनीहरूले मुलुकमा अझै पनि पत्रकारले समाचार लेखकै भरमा विभिन्न आक्रमण, यातना र झमेला खेप्न परिरहेको घटना स्मरण गरे ।
प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०३:५४




