लमजुङ ।
कक्षा १२ को वार्षिक परीक्षा अन्तरगत आज (२०८२ वैशाख २५ गते) फाईनान्स विषयको परिक्षामा अर्काको नाममा परीक्षा दिन आएका एक नक्कली परिक्षार्थी पक्राउ परेका छन्।
सुन्दरबजार नगरपालिका–६, बरेटारस्थित आदर्श बाल माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भएको चेकजाँचको क्रममा सो नक्कली परिक्षार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
प्रहरीका अनुसार परीक्षामा सुन्दरबजार नगरपालिका वडा नं ५ निवासी २० वर्षीय विशाल गुरुङको नाममा परीक्षा दिइरहेका अर्कै व्यक्ति फेला परेका थिए। सो नक्कली परिक्षार्थी सोही ठेगानाका २० वर्षीय आयुष गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई आजै जिल्ला प्रशासन कार्यालय, लमजुङमा पेश गरिएको छ। प्रशासनले “शिक्षा ऐन सम्बन्धी कसुर” अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए।
शाहका अनुसार दुबै जना युवाको सम्बन्ध, योजना र यस घटनाको पछाडि अरु संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले शिक्षा प्रणालीको मर्यादा र निष्पक्षतालाई चुनौती दिने यस्ता गतिविधिलाई कडाइका साथ हेर्ने जनाएको छ।
पक्राउ परेका दुबै जनामाथि कानूनअनुसार आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति २०८२ वैशाख २५ गते बिहीबार ०७:०५




