बागलुङ ।
बागलुङको बरेङ गाउँपालिकाको केन्द्र हुग्दिशिरदेखि गुल्मीको शान्तिपुर जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।
ट्रयाक खुलेको १८ वर्षपछि सडक कालोपत्र गर्न थालिएको हो । वि.सं. २०६४ सालमा ट्रायक खुलेको उक्त सडक स्तरोन्नति नहुँदा स्थानीय बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका थिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटले सडक कालोपत्र सुरु भएपछि स्थानीय खुसी भएका छन् । सडकको दुई खण्डमा अहिले काम गर्न थालिएको छ ।
गाउँपालिकाले बोलपत्रमार्फत दुई वटा निर्माण कम्पनीलाई कालोपत्र गर्ने जिम्मा दिएको थियो । सुदलादेखि घट्टसम्म पहिलो खण्डको करिब आठ सय चालिस मिटर र नयाँ बजार–हुग्दिशिरसम्म दोस्रो खण्डको सात सय ८० मिटर कालोपत्र गर्न थालिएको हो ।
यो सडकले दक्षिण बागलुङवासीलाई बुटवल र भैरहवासँग सिधा जोडेको छ । यो सडक लामो समयसम्म स्तरोन्नति नहुँदा स्थानीयले दुःख पाउनु परेको थियो चालु आर्थिक वर्ष पालिकाले आफ्नै लगानीमा कालोपत्र गर्न थालेको हो ।
दुई वटा खण्ड मध्ये पहिलो सिजन बिल्डर्स एण्ड सप्लायर्स र दोस्रो गगन बिल्डर्स एण्ड सप्लायर्सले जिम्मा पाएको छ । पहिलो खण्ड रु ८१ लाख ८५ हजार १ सय ९८ र दोस्रो खण्ड कालोपत्रका लागि रु ८१ लाख ८० हजारमा सम्झौता भएको थियो । यो खण्ड आगामी असार १५ गते सक्नु पर्नेछ । दोस्रो खण्ड अन्तरगत नयाँ बजार–हुग्दिशिरसम्म रु ८१ लाख ८९ हजार ७३३ मा निर्माण कम्पनीले जिम्मा पाएको छ ।
यस खण्ड कालोपत्रका लागि गत मंसिर १८ गतेनै सम्झौता भएको थियो । हालसम्म पहिलो खण्ड ७५ प्रतिशत र दोस्रो खण्डको ७० प्रतिशत काम सकिएको गाउँपालिकाले जनाएको छ । दुई वटै खण्डको म्याद वैशाख १५ गते सकिएपछि असार १५ म्याद थप गरिएको छ । अहिले दुई वटै खण्डमा धमाधम काम भइरहेकाछ ।
प्रकाशित मिति २०८२ वैशाख २९ गते सोमबार ०६:४६




