काठमाडौं ।
वागमती प्रदेशको नेपाली काँग्रेसमा लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्ष अन्ततः निर्णायक मोडमा पुगेको छ ।
बुधवार सम्पन्न मतदानमा मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित हुनुभएको छ । कुल ३७ जना सांसदहरूमध्ये बानियाँले २२ मत प्राप्त गर्नुभएको छ भने लामाले १४ मत मात्र प्राप्त गरे । एक मत बदर भएको छ । साढे दुई वर्षदेखि काग्रेस संसदीय दलको नेतृत्व सम्हाल्दै आएका मुख्यमन्त्री लामा अब दलको नेताबाट बाहिरिका छन् ।
दलको नेताबाट पराजित भएपनि मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने लामाको अडान रहेको छ । लामाले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै, दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दाबी गरे । साथै संविधानले दुई वर्षसम्म विश्वासको मतविरुद्ध प्रश्ताव ल्याउन नपाइने व्यवस्था गरेको भन्दै उनले पद नछोड्ने अडान लिएका थिए ।
यता बानियाँले भने लोकतान्त्रिक अभ्यासअनुसार लामाले राजीनामा दिनुपर्ने धारणा राखे । उनले दलको निर्णयअनुसार आफू काँग्रेसको आधिकारिक नेता भइसकेको भन्दै यदि लामा पदबाट नहट्ने हो भने लोकतान्त्रीक अभ्यासअनुसार प्रक्रियाबाटै बिदाइ गर्ने बताएका छन् ।
यसैबीच लामाको नेतृत्वमा रहेको वागमती प्रदेश सरकार थप संकटमा छ । लामाविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएपछि उहाँको पक्षमा रहेका पाँच जना मन्त्रीले राजीनामा दिँदै बानियाँको समर्थनमा उभिए पछि उनको पकड कमजोर भएको छ ।
अर्कोतर्फ सरकार साझेदार दल नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काँग्रेसको आन्तरिक कलह समाधान नगरे एमाले सत्तामा आउन तयार रहेको बताए । उनले कुनैपनि पार्टीको आन्तरिक द्वन्द्वले सरकारको संघीय संरचनामा समस्या ल्याउन नहुने चेतावनी दिए ।
यो प्रतिष्पर्धा बानियाँ र लामाबीचको दोस्रो प्रतिष्पर्धा हो । २०७९ को पुस १३ मा भएको संसदीय दलको पहिलो निर्वाचनमा बानियाँ पाँच मतले पराजित हुनुभएको थियो ।
त्यसपछिका साढे दुई वर्षमा परिस्थितिले नयाँ मोड लिँदै जाँदा लामाविरुद्धको असन्तुष्टि बढ्दै गएको थियो । गुटगत राजनीति र नेतृत्वको शैलीप्रति बढ्दो असन्तोषबीच बानियाँले अन्ततः बहुमतको समर्थनसहित दलको नेतृत्व हात पार्न सफल भएका थिए ।
प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ०८:००




