पोखरा ।
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई श्रम ऐनले तोके अनुसारको तलब उपलब्ध गराउन तयार रहेको बताएको छ ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गदै अफिनले नर्सहरुलाई श्रम ऐन अनुसारको तलब दिन निजी स्वास्थ्य संस्था तयार रहेकाले काममा फर्कन आग्रह गरेको छ । तलब बृद्धिलगायत माग राख्दै नर्सहरु दुइहप्तादेखि आन्दोलित छन् ।
मणिपाल शिक्षण अस्पताल पोखराबाट सुरु भएको आन्दोलन गण्डकी मेडिकल कलेज लगायत अन्य निजी स्वास्थ्य संस्थामा पनि विस्तार हुदैँ गएको छ । अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेल स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा जस्तो सरकारी तलब अनुसारको पारिश्रमिक दिन निजी अस्पताल तयार नभएको बताए । सरकारी तलब स्केल अनुसार नर्सहरुले सुरुवाती तलब ३४ हजार ७ सय ३० रुपैया पाउनुपर्छ ।
उनले अहिले आन्दोलन चलेका अस्पतालले श्रम ऐनले तोकेको न्यूनतम १९ हजार पाँच सय भन्दा कम तलब नदिएको पनि दावी गरे । स्वास्थ्य मन्त्रालयले तोके अनुसारको तलब दिनुपर्छ भन्नु गलत रहेको अफिनको तर्क छ ।
मणिपाल शिक्षण अस्पतालमा नर्सहरुको आन्दोलन चलिरहदा स्वास्थ्य सेवा प्रभावित भएको र गण्डकी मेडिकल कलेजमा पनि नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ । मणिपाल शिक्षण अस्पतालका निर्देशक प्रा. डा. अभिषेक मास्केले मंगलबार भएको छलफलमा २५ हजार तलबमान कायम गर्ने सहमति भएपनि बुधबार नर्सहरु पुनः पुरानै अडानमा फर्केकाले सहमती हुन नसकेको बताए ।
अफिनले सरकारले स्वास्थ्य विमा, विपन्न नागरिकको सेवा र जटिल प्रकृतिका रोगको उपचार खर्च समेत उपलब्ध नगराएको भन्दै निजी अस्पताललाई मात्र पेल्ने गरी निर्देशन दिएकोमा अपत्ती जनाएको छ ।
गण्डकी मेडिकल कलेज पोखराका प्रिन्सिपल डाक्टर रविन्द्र श्रेष्ठले सरकारी अस्पतालमा जस्तो निजी अस्पतालमा सुविधा उपलब्ध गराउन सम्भव नभएको बताए । नर्सको आन्दोलनले अस्पतालमा विरामीलाई सेवा दिन समेत नसक्ने अवस्था आएको श्रेष्ठको भनाई थियो ।
प्रकाशित मिति २०८२ असोज २९ गते बुधबार ०८:२५




