२०८३ साउन २१ गते बिहीबार

प्रहरीसँग पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी निर्वाचन प्रभावित हुनेमा सरकार शतर्क छः गृहमन्त्री आर्याल

प्रहरीसँग पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी निर्वाचन प्रभावित हुनेमा सरकार शतर्क छः गृहमन्त्री आर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार ११:४२

जेन-जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताएका छन् ।

शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए । सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने उनले उल्लेख गरे ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्र पंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको उनको भनाइ छ ।

गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको उनको जिकिर छ ।

जेन-जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

उनले भने, ‘समाजका हरेक घटनामा प्रहरीले नै फस्र्ट रेस्पोण्डरको रुपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभइ सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ । यही भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व हो । जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नुभएको छ । साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएका छन् । त्यसैत अभाव झन त्यसमा पनि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ । न्युन साधन, श्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालयर वर्तमान सरकार सचेत रहेको छ । प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।’

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि पनि मौलाएको उल्लेख गरे । उनका अनुसार यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बढ्दै गएको छ ।

नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ११:४२
हजुरको प्रतिक्रिया