आजै धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाईंदै
पोखरा ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।
शनिबार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो र आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो ।
दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
यमदीपदान पनि आजैदेखि शुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईले बताए । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा भट्टराईले जानकारी दिए । त्यस्तै भोलि काग तिहार र धनवन्तरी जयन्ती परेको छ ।
तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।
कात्तिक ३ गते दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि तीन गते परेको छ ।
४ गते मंगलबार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ ।
आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ ।
कात्तिक ६ गते बिहीबार भाइटीका छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।
नेवारी समुदायको किजापूजा पनि कात्तिक ६ गते गरिन्छ ।
प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०९:०५




