काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका सबैजसो रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेलले लिएका निर्णय सच्याउन माग गरिएका छन् ।
अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल र आयुष बडाललगायतले सुशीला कार्कीको नियुक्ति बदर र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दिएका थिए ।
गत भदौ २३ र २४ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमनत्री नियुक्त गरेको थियो ।
प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका थिए ।
उनले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मितिसमेत तोकेका थिए ।
प्रकाशित मिति २०८२ कात्तिक १३ गते बुधबार ०९:११




