पोखरा ।
भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेर प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेको आरोपमा कास्की प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ०७, घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी छन् । जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कार्तिक १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले पक्राउ परेका जलारीको साथबाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानोन कम्पनीको एसओसीओ डिजिटल क्यामेरा मोटरसाइकल १ थान बरामद गरिएको जानकारी दिए ।
जलारी ज्यान मार्ने उद्योग मुद्दामा कारागार कार्यालय कास्कीमा थुनामा रहेको बेला भदौ २४ गतेको आन्दोलनको मौका छोपी भागेका थिए ।
कारागारबाट भागेलगत्तै उनी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट र चोरी गर्न पुगेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका जलारीलाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक १५ गते शुक्रबार ०८:१२




