पोखरा ।
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छिन् ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताइन् ।
सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको उनको दाबी छ ।
जेन–जी का माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी हुन् ।
यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनले बताइन् । यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरुपमा धम्की दिएको उनले बताइन् ।
उनले भनिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको छ । जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् । यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु ।’
आफूहरु कसैको धम्कीबाट नडराउने भन्दै उनले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न निर्देशन दिइन् ।
प्रकाशित मिति २०८२ मंसिर २४ गते मंगलबार ०१:१५




