पोखरा ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृंखला सुरु हुँदैछ ।
लिग–२ खेल्न नेदरल्यान्ड्स पुगेको नेपालले शृंखलाको पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । यो त्रिदेशीय शृंखलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् ।
नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

अहिले लिग–२ को अकंतालिकामा २८ खेलबाट २४ अंकसहित नेपाल पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अकंसहित तेस्रो, नामिबिया २२ अकंसहित सातौँ स्थानमा छन् ।
अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् । नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृंखला महत्त्वपूर्ण रहेको छ ।
लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।
लिग–२ खेल्ने नेपालको टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल छन् ।
प्रकाशित मिति २०८३ साउन ५ गते मंगलबार ११:४०




