पोखरा ।
मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् ।
इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो ।
मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।
विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।
प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०१:०६




