पोखरा ।
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए । त्यसअघि ईशान पाण्डेले ४०, देव खनालले ३९ रन जोड्दा गुल्शन झा ४४ तथा रोहित पौडेल २४ रनमा अविजित रहे ।
यस्तै, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन जोडे । बलिङतर्फ साउदीका इश्तियाक अहमद र मुहम्मद आतिफले दुई–दुई तथा मोहम्मद शेखले एक विकेट लिए ।
त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।
साउदी लागि ओपनिङ ब्याट्सम्यान अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिए ।
यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए ।
ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।
यस अघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । सो खेलपछि समूहविजेताको टुंगो लाग्नेछ ।
प्रकाशित मिति २०८३ भदौ २१ गते आइतबार ०२:४०





