२०८३ मंसिर १३ गते शनिबार

फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको सँघर्षपूर्ण जीत, बाहिरियो आर्मी

फेवा किङ्स कपः आर्मीविरुद्ध एपीएफको सँघर्षपूर्ण जीत, बाहिरियो आर्मी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १३ गते शनिबार १२:२१

यो हारसँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले यसअघि तीनवटा खेलमा हार ब्यहोरिसकेको छ ।

पोखरा ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा एपीएफ क्लबले तेस्रो जीत निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो जीत निकालेको हो ।

एपीएफले आर्मीलाई २२–२५, २५–१५, २३–२५, २५–११ र १५–११ ले पराजित गर्याे । यो हारसँगै त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले यसअघि तीनवटा खेलमा हार ब्यहोरिसकेको छ ।

आज (शनिबार) को दोसो खेल कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघबीच हुँदैछ भने अन्तिम खेल आयोजक युनाइटेड किङ्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।

 

प्रकाशित मिति २०८३ मंसिर १३ गते शनिबार १२:२१
हजुरको प्रतिक्रिया