पोखरा, १९ भदौ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जाको दूषित राजनीति अन्त्य गर्ने बताएकी छन् । लालपुर्जालाई भोट बैंकको रुपमा प्रयोग गर्न नदिने उनले उल्लेख गरिन् ।
पोखरामा भूमिहीन दलित, सुकुम्वासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘अबको दिनमा नेपाली जनतालाई यो वा त्यो वहानामा भोट बैंकको रुपमा प्रयोग गरेर पुर्जाको प्राप्त गर्ने भए हामीलाई भोट देउ भन्ने जुन दूषित राजनीति भईरहेको थियो त्यो दूषित राजनीतिलाई सदाका लागि अन्त्य गर्न चाहान्छौं ।’
उनले लालपुर्जा प्राप्त गर्ने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गरिन् । राज्यले जनताको मौलिका अधिकार प्रदान गर्नु दायित्व भएको बताइन् । उनले हालसम्म २२ वटा आयोग गठन भएपनि सुकुम्बासी जनतालाई पुर्जा दिन चुकेको बताइन् ।
राष्ट्रिय भूमि आयोग कास्कीले आयोजना गरेको कार्यक्रममा ३९ जनालाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ ।
प्रकाशित मिति २०७९ भदौ १९ गते आइतबार ०५:४३