२०८३ साउन २१ गते बिहीबार

लमजुङमा देशकै चासोः एमाले–माओवादीकै प्रतिष्ठाको लडाइँ

लमजुङमा देशकै चासोः एमाले–माओवादीकै प्रतिष्ठाको लडाइँ

अमृत सुवेदी

@Public 4K Tv

२०७९ कात्तिक २४ गते बिहीबार ०७:५१

अघिल्लो निर्वाचनमा संघ र प्रदेशमा मिलेर चुनाव लडेका दुई ‘गुरुङ भाइ’ अनिच्छा राख्दा राख्दै पनि आमने–सामने हुने भएका छन् । दुई प्रमुख पार्टीका हेभिवेट नेताको प्रतिस्र्धालाई देशभरि नै निकै चासोका साथ हेरेका छन् ।

हेभिवेट नेताको नचाहेको प्रतिस्पर्धा

पोखरा
पहिलो संविधान सभाको निर्वाचनमा कास्की–१ र मनाङबाट चुनाव जितेका देव गुरुङले मनाङ रोजे । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीबाट अलग भएका देव गुरुङले बहिस्कार गर्दै निर्वाचनमै भाग लिएनन् ।

फेरि उनी माओवादीमै फर्केपछि नेकपा एमालेसँग एकता गरेर भएको २०७४ सालको निर्वाचनमा एमाले नेता पृथ्वीसुब्बा गुरुङकै जोडबलमा देवप्रसाद लमजुङबाट प्रतिनिधि सभाको उम्मेदवार भएका थिए ।

देवप्रसाद, पृथ्वीसुब्बा र धनञ्जय दवाडीसहित लमजुङका ३ वटै सीट बाम गठबन्धनले जितेको थियो । देवले चुनाव जितेर संघको यात्रा तय गर्दै माओवादी संसदीय दलको प्रमुख सचेतक बने भने पृथ्वीसुब्बा गण्डकी प्रदेशकै मुख्यमन्त्री भए ।

केन्द्रमा एकता नहुँदै २०७४ को स्थानीय तहको निर्वाचनमा लमजुङका स्थानीय तहमा उनीहरुकै जोडबलमा माओवादी र एमालेले एकता गरेका थिए ।

अहिलेको दृश्य ठ्याक्कै त्यसको उल्टो छ, एमाले एकातिर र अर्कोतिर माओवादीसहित कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन छ ।

वाम शक्ति एक हुनुपर्ने सुरुदेखि नै उद्घोष गर्दै आएका पृथ्वीसुब्बाको केही जोर चलेन । केपी शर्मा ओलीले संसद विघटन गरेपछि बेठिकै लागे पनि पृथ्वीसुब्बा बचाइमा उत्रनुप¥यो भने देवप्रसाद संविधानको रक्षाका लागि भन्दै सडकमा उत्रिए ।

नेकपा विवादले एमाले–माओवादी फुटेनमात्र पृथ्वीसुब्बा मुख्यमन्त्रीबाटै सत्ताच्यूत भए ।

दुबैले पार्टीभित्र भने पहुँच शक्ति बढाउँदै लगे । तत्कालीन एमालेका सचिव पृथ्वीसुब्बा पार्टीमा उपमहासचिव भए भने देव माओवादी महासचिव बने ।

गठबन्धनबाट माओवादीका देव गुरुङ लमजुङमा चुनाव लड्ने पक्काजस्तै थियो भने पृथ्वीसुब्बा प्रदेशमै दोहोरिने बताइरहेका थिए । देवप्रसाद पनि पृथ्वीसुब्बाले प्रदेश लडेपछि जमिन्द्रमानसँग भिड्ने तयारी गरिरहेका थिए ।

पृथ्वीसुब्बाले प्रदेश सभा ‘ख’ बाटै चुनाव जितेर फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री हुने चाहाना सार्वजनिक रुपमा पनि राखेका थिए भने अध्यक्ष केपी शर्मा ओलीसमक्ष पनि राखेका थिए ।
त्यसको पछाडिको कारण पृथ्वीसुब्बालाई संघमा देव गुरुङसँग लड्नुभन्दा प्रदेशमा सुरक्षित पनि थियो । तर, पृथ्वीसुब्बासँग पछिल्लो समय अनुदार बनेका ओलीले कास्की क्षेत्र नम्बर १ को ‘क’ मा खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन टिकट टिए ।
पृथ्वीसुब्बालाई भने बरु टिकटै नदिनु संघमा उठ्दिन भनेर पनि उठ्नै बाध्य भए । उनको नाम प्रदेश सभा ‘ख’ कै लागि सिफारिस भएको थियो । प्रतिनिधि सभामा संविधान सभा सदस्य भइसकेका जमिन्द्रमान घलेको नाम सिफारिस भएको थियो ।
घलेले आफू कुनै पनि हालतमा प्रदेशमा नउठ्ने बताइरहेका थिए । प्रदेश सभा ‘क’ मा यसअघि नै सांसद बनिसकेका धनञ्जय दवाडीको नाम सिफारिस भएको थियो ।

एमाले जिल्ला अध्यक्ष कृष्ण अधिकारीले पनि आफ्नो नाम एकल रुपमा ओली समक्ष पेश गरेका थिए भने उनकै नेतृत्वमा लमजुङको एमालेको एउटा टोली हुलै बाँधेर काठमाडौं पुगेको थियो ।

उनीहरुले पटक पटक एउटैलाई टिकट दिँदा नयाँ कहिले ठाउँ पाउने भन्दै ओलीलाई सोधेका थिए । पृथ्वीसुब्बाका कारण जिल्लामा गुटबन्दी पनि बढेको उनीहरुले रिर्पोटिङ गरेका थिए ।

एमाले अध्यक्ष ओलीले जिल्लाबाट गएको सिफारिसभन्दा फरक निर्णय सुनाए । संघमा टिकट मागेका जमिन्द्रमानलाई प्रदेश सभा ‘क’ को टिकट दिए भने पृथ्वीसुब्बालाई संघकै टिकट थमाए । पृथ्वीसुब्बाको क्षेत्रमा काठमाडौं पुगेका एमाले जिल्ला अध्यक्ष अधिकारीलाई टिकट दिए ।

गठबन्धनका तर्फबाट देव प्रतिनिधि सभाका हुँदा प्रदेश सभा (क) मा कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पृथ्वीसुब्बाबीचको गुटगत लडाईंले एमालेले कास्कीमा हार व्यहोरेको भन्दै ओलीसमक्ष खगराज समूहले रिपोर्टिङसमेत गरेको उनीहरु नै बताउने गरेका थिए ।

पोखरामा कृष्ण थापालाई हराउन खेल खेलेको भन्दै पृथ्वीसुब्बा समूहप्रति खगराज समूह रुस्ट थियो । जसका कारण पनि पृथ्वीसुब्बालाई प्रदेशमा फेरि मुख्यमन्त्री बनाउने पक्षमा ओली नरहेको नेताहरुको भनाइ थियो ।

टिकटको टुंगो लागिसकेपछि असन्तुष्ट बनेको पृथ्वीसुब्बाले ओली समक्ष कुरा राखे पनि कुनै सीप लागेन भने जमिन्द्रले संघमा उठ्छु भने पनि प्रदेशमै टिकट पाए । अन्ततः संघमा माओवादी महासचिव देवप्रसादसँग उठ्नै अनिच्छा राख्दा राख्दै पनि चुनावी मैदानमा होमिने गरी आइतबार दुबैले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराएपछि पनि पृथ्वीसुब्बाले प्रदेशमै उठ्न चाहाना हुँदा हुँदै पनि संघमा उठ्नुपरेको प्रतिक्रिया दिए ।

‘एकपल्ट मौका पाएँ भने, पाँच वर्ष प्रदेशको सरकार चलाउन पायो भने धेरै काम गर्न पाइन्थ्यो होला भन्ने आशा, इच्छा, आकांक्षा थियो,’ गुरुङले भने, ‘सुशासन, विकास र समृद्धिको अभियानमा अलिकति महत्वपूर्ण नेता संघमा चाहियो भन्ने अध्यक्षले भन्नु भएकाले मैले प्रतिनिधिसभामा उम्मेद्वारी दिएँ ।’

संघकै टिकट पाइसकेपछि पनि उनले ओलीलाई प्रदेशकै टिकट दिन माग गरेका थिए । एमाले अध्यक्ष ओलीले पार्टीको पदाधिकारीले पनि संघमा उठ्दिन भन्न पाइन्छ भनेर हप्काएको नेताहरु बताउँछन् । पृथ्वीसुब्बाले फेरि एक पटक मुख्यमन्त्री भएर संघीयतालाई बलियो बनाउने बताएका थिए ।

अघिल्लो निर्वाचनमा संघ र प्रदेशमा मिलेर चुनाव लडेका दुई ‘गुरुङ भाइ’ अनिच्छा राख्दा राख्दै पनि आमने–सामने हुने भएका छन् । दुई प्रमुख पार्टीका हेभिवेट नेताको प्रतिस्र्धालाई देशभरि नै निकै चासोका साथ हेरेका छन् ।

दुबै जना संघीयता, समावेसिता, धर्मनिरपेक्षता र गणतन्त्रको खरो पक्षधर हुन् । संघीयतालाई बलियो बनाउनकै लागि पनि पृथ्वीसुब्बाले आफ्नै अध्यक्षसँग पैठेजोरी खेलेका थिए ।

गण्डकीको मुख्यमन्त्री हुँदा थुप्रै पटक संघीयतालाई कमजोर पार्न खोजेको भन्दै ओलीकै विरुद्धमा बोलेनन्मात्र मुख्यमन्त्रीहरुकै भेला गरेर दबाब दिएका थिए ।

देवप्रसाद पनि निश्कलिंकत र निर्विवादित नेता हुन् । माओवादीभित्रका हार्डलाइनर उनी संविधानले स्थापित गरेको मूल मर्मलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्छ भन्ने नेता हुन् ।

देव गुरुङ व्यक्तिगत ईच्छाले को कहाँ उठ्छ भन्नुभन्दा पनि मुद्धाले तय गर्ने बताउँछन् । पछिल्लो समयमा जसरी घटनाक्रमको विकास भयो, त्यसले नै हिजो जेजस्तो भए पनि आज पृथ्वीसुब्बासँग आमनेसामने हुने परिस्थिति सिर्जना भएको माओवादी महासचिव देवप्रसादले बताए ।

व्यक्तिगत रुपमा यो प्रतिस्पर्धा पृथ्वीसुब्बासँग नभइ यो विशुद्ध राजनीतिक वैचारिक घटना क्रमपछि उत्पन्न परिस्थितिमा देशलाई कता लैजाने भन्ने सिद्धान्तसँग भएको देवप्रसादले बताए ।

संविधानको रक्षा गर्ने कि पछाडि घकेल्ने भन्ने बीचको राजनीतिक परिस्थितिले सापेक्षिक रुपमा विचार मिल्नेहरुले सहकार्य गरेर चुनावमा जानुपर्ने अवस्थाको सिर्जना भएको उनको भनाइ थियो ।

देशलाई समाजवादको बाटोमा लैजानुपर्छ भनेर अघिल्लो निर्वाचनमा बाम गठबन्धन भएको र यसपाली पछिल्लो घटनाक्रमले संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन भएको उनले बताए ।

यसपाली जनताले संविधान रक्षाका निम्ति वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको उनको भनाइ ।

पृथ्वीसुब्बा पनि अहिलेको गठबन्धनको सरकारले जनताको हुर्मत लिने काम गरेको र आफूले अझै लमजुङका निम्ति काम गर्न बाँकी रहेको मुख्यमन्त्री हुँदा नै देखाएले जीतको विकल्प नभएको बताउँछन् ।

प्रकाशित मिति २०७९ कात्तिक २४ गते बिहीबार ०७:५१
हजुरको प्रतिक्रिया