पोखरा
झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भने, जिल्लाका एमाले हेभिवेट नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन ।
हुन पनि अघिल्लो निर्वाचनमा रोमीलाई हराउँदै प्रेम संसद छिरेका थिए । कांग्रेसबाटै एमाले प्रवेश गरेर रोमीको बिरासतलाई ढलाएका प्रेमले सहजै जित हाँसिल गर्ने गण्डकी प्रदेशमै धेरैको अनुमान थियो । तर, त्यो अनुमानलाई गलत सावित गराउँदै आफ्नै बाबु रोमी गौचनको बिरासतमा एमालेका ६० वर्षीय प्रेमलाई हराउँदै २९ वर्षीय योगेश विजयी भएका छन् ।
रोमीले आफूले पाउने टिकट छोरा योगेशलाई दिएका थिए । देशभर युवाको लहर चलिरहेका बेला बाबु पुस्ताकै प्रेमलाई हराउँदै योगेशले मुस्ताङबाट इतिहास रचेका छन् । अघिल्लो निर्वाचनमा भन्दा बढी मतान्तरले भर्खरै राजनीतिमा प्रवेश गरेका योगेश गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा विजयी हुने पहिलो सांसद बनेका छन् । गठबन्धनबाट विजयी योगेशले हजार ९ सय ५७ मत ल्याउँदा एमालेका प्रेमले ३ हजार ९८ मत ल्याएका छन् । मुस्ताङमा १० हजार ९ सय ५७ मतदाता थिए । जसमध्ये ७ हजार २ सय ३० मत खसेको थियो ।
ब्यापार, व्यवसायसँगै बाबुको बिरासतमा योगेश राजनीतिमा छिरेका थिए । अघिल्लो निर्वाचनदेखि नै योगेशले राजनीतिक सक्रियता बढाएका थिए । मुस्ताङका नेताहरु भन्छन्, ‘प्रदेश वा संघ जुनमा भए पनि चुनाव लड्ने योगेशको तयारी थियो ।’ त्यसका लागि आफ्नै बाबुले टिकट छोड्नुपथ्र्यो । हुन पनि मुस्ताङमा रोमी आफैं टिकट बाँड्ने ठाउँमा थिए । २ प्रदेश र प्रतिनिधि सभामा टिकट बाँड्ने जिम्मेवारी कांग्रेस नेतृत्वले रोमीलाई नै दिएको थियो । मुस्ताङमा कांग्रेस नेता कार्यकर्ताले योगेशलाई नै टिकट दिन सर्वसम्मत निर्णय गरेपछि टिकट दिइएको जिल्ला सभापतिसमेत रहेका रोमीले बताएका थिए ।
अघिल्लो निर्वाचनमा ३ सीट नै एमालेले जितेको थियो । वर्षौंदेखि विकास निर्माणदेखि राजनीतिसम्म जोडिएका र एमालेभित्र पनि सर्वसम्मत भएका नेता प्रेमका निम्ति योगेश कमजोर हुने अनुमान फेल खाएको छ । विद्यार्थी राजनीति हुँदै कांग्रेसको राजनीतिमा लागेका योगेश अहिले गण्डकीको सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । बाबुले देखाएको बाटो र आर्शिवाद लिएर चुनावी मैदानमा होमिएर र जीत पनि निकाल्ने योगेशको दाबी थियो ।
भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएर योगेशले मुस्ताङदेखि गण्डकी प्रदेशसम्म कांग्रेसभित्र आफ्नो राजनीतिक दायरा बढाउँदै लगेका थिए । राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन् भन्ने प्रमाणित गर्ने योगेशको जिकीर थियो । २०५६ र २०७० सालमा चुनाव जितेर वाणिज्य मन्त्रीसमेत भएका रोमीले २०७४ सालको चुनावमा हार व्यहोरेका थिए । २०३४ सालतिरबाट नेपाल विद्यार्थी संघमा जोडिएर कांग्रेसमा हक्की नेताको छबि गौचनले विश्वेश्वरप्रसाद कोइरालादेखि पछिका हरेक नेतासँग सम्बन्ध गाँसेका थिए । धक फुकाएर शीर्ष नेताहरुसँग आफ्ना कुरा राख्ने सक्ने नेतामा रुपमा कांग्रेसभित्र रोमी चिनिएका थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी लोकप्रसादका छोरा रोमीले झण्डै ४ दशक मुस्ताङ कांग्रेसमा एकछत्र राज गरेर त्यो बिरासत छोरा योगेशलाई सुम्पिएका हुन् ।
मुस्ताङमा योगेशले चुनाव जित्नुका पछाडि देशभर चलेको युवाको लहर पनि हो । मुस्ताङमा माओवादी र एकीकृत समाजवादीकोसमेत राम्रै मत रहेकाले योगेशले जित निकालेको नेताहरुको भनाइ छ । जित्नुको अर्को कारण मुस्ताङका आफन्त पनि हुन् । तल्लो मुस्ताङमा योगेश र प्रेम नाताले साला भेना भन्छन् भने आफन्तहरु पनि समान हुन् । यसपटक आफन्तहरुले पनि योगेशलाई राजेका छन् ।
गत स्थानीय तहको चुनावको नतिजा हेर्दा भने एमालेलाई नै सहज देखिएको थियो । मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा करिब ४ सय मतले एमाले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ । गत स्थानीय तहको मतअनुसार करिब १ हजार मतले आफूहरुले जित्ने दाबी एमाले उम्मेदवार तुलाचनको पक्षमा थियो । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा चुनाव लड्ने योगेश २९ वर्षका हुन् भने अरु दुई प्रदेश सभाका उम्मेदवार पनि ४० वर्षभन्दा कम छन् । उनीहरु सबै निर्वाचनमा नयाँ अनुहार हुन् ।
प्रदेशसभामा ‘क’ मा ३५ वर्षीय नन्दु गुरुङ छन् । उनी मुस्ताङ जिल्ला प्रदेश सभाका क्षेत्रीय सचिव हुन् । प्रदेश ‘ख’मा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङ जिल्ला कार्यसमितिका सचिव शेरचन पनि ३८ वर्षका छन् । नेकपा एमालेका उम्मेदवार भने सबै अनुभवी र दोहोरिएका सांसद हुन् । प्रदेशतर्फ ईन्द्रधारा बिष्ट र चन्द्रमोहन गौचनले उम्मेदवारी हालेका छन् । प्रदेश सभा ‘क’ का उम्मेदवार इन्द्रधारा यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् भने प्रदेश सभा ‘ख’ का उम्मेदवार गौचन समानुपातिकबाट सांसद बनेका थिए ।




