एमालेसँग पारिवारिक बदला लिए जितप्रकाशले
पोखरा
नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हावी हुन्छ । बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिती थियो । पछिल्लो पुस्ताका प्रदिप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन् ।
र पनि तनहुँ २ मा नेपाली कांग्रेस कमजोर सावित भइरहन्छ । एमालको गढ तनहुँ २ (साविकको ३) यसपालि भने भत्किएको छ । २८ वर्षपछि नेकपा एमालेको गढ भत्काएर नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले इतिहास रचेका छन् ।
भण्डारीले नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत ल्याए । १ लाख २५ हजार ५ मतदाता रहेको यो क्षेत्रमा ६७ हजार ८१७ मत खसेको थियो ।
भण्डारी र गुरुङ सहित यो क्षेत्रमा १० जना चुनावी मैदानमा थिए । त्यसमा पनि पूर्व वनमन्त्रीद्वयको भिडन्तले यो क्षेत्र चासो र चर्चाको बिषय बनेको थियो ।
२०५१ सालपछि पहिलोपटक नेपाली कांग्रेसले यो क्षेत्रमा जीत हासिल गरेको हो । २०५१ सालमा तत्कालिन तनहुँ ३ मा कांग्रेसका अमरराज कैनी विजयी भएका थिए । त्यसपछि लगातर एमालेले जित्दै आइरहेको थियो ।
राज्य पुर्नसंरचनासंगै म्याग्दे र ऋषिङ गाउँपालिका मिसाएर साविकको तनहुँ क्षेत्र नम्बर ३ लाइ क्षेत्र नम्बर २ कायम गरियो । त्यतिबेला तनहुुँ २ मा पर्ने छाङ्ग, जामुने, मनपाङ्ग गाविसलाई म्याग्दे गाउँपालिका र काँहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ रानीपोखरी गाविसलाई ऋषिङ गाउँपालिका कायम गरिएको छ ।
तनहुुँ ३ मा २०४८ सालमा नेकपा एमालेका किरण गुरुङले कांग्रेसका पदमबहादुर आलेलाई १ हजार ६६२ मतको अन्तरमा पराजित गरेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेका टुकराज सिग्देललाई कांग्रेसका अमरराज कैनीले पराजित गरे ।
कैनी त्यतिबेला यो क्षेत्रमा टुरिष्ट उम्मेदवार थिए । संयोग नै मान्नुपर्छ यसपालि विजयी भएका कांग्रेसका भण्डारीको पनि टुरिष्ट उम्मेदवार हुन् । उनको मतदाता नामावली तनहुँ २ मा छैन ।
तनहुँ १ अन्तर्गत भानु नगरपालिका–९ पुर्कोटका भण्डारीको मतदाता नामावली पुर्कोट क्याम्पसको मतदान केन्द्रको छ ।
२०५६ मा एमालेका टुकराज सिग्देलले कांग्रेसका विष्णुविर आलेलाई पराजित गरे । २०६४ मा एमालेका किरण गुरुङले कांग्रेसका ताराराज रानालाई र २०७० मा टुकराजले कांग्रेसका जितप्रकाश आलेलाई पराजित गर्दै एमालेको किल्ला बनाउन सफल भए ।
२०७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई पराजित गर्दै एमालेलाई दरो बनाएका थिए । सिग्देलसँग भण्डारी ३ हजार २७९ मतान्तरले पराजित भएका हुन् ।
सिग्देलले ३२ हजार ९२४ र भण्डारीले २९ हजार ६४५ मत पाएका थिए ।
भण्डारी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित हुँदै संसद छिरेका थिए । प्रधानमन्त्री देउवा निकट मानिने भण्डारी यसपालि तनहुँ १ बाट रामचन्द्र पौडेल लड्ने भएपछि तनहुँ २ मा आएका हुन् ।
दोस्रो प्रयासमा तनहुँ २ को २८ बर्षे लामो इतिहासलाई भण्डारीले उल्टाउदै जित दर्ता गराएका छन् ।
२८ बर्षमा एमालेको गढ भत्काएका भण्डारीलाई कार्यकर्ताले २८ किलोको माला लगाइदिएर बधाइ दिएका छन् । कांग्रेस निकट व्यवसायी निरबहादुर पुनले भण्डारीलाई बुधबार २८ किलोको माला लगाइदिएका हुन् ।
जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल छ ।
कसरी भत्कियो एमालेको गढ ?
२८ वर्षपछि एमालेको गढ भत्काएर जितको झण्डा फहराउनुलाई कांग्रेस नेताहरु नेकपा माओवादीको साथलाई श्रेय दिन्छन् ।
तनहुँमा माओवादी तेस्रो शक्तिका रुपमा स्थापित छ । २०७४ सालको निर्वाचनमा माओवादीले एमालेललाई साथ दिदा कांग्रेस पत्तासाफ भएको थियो ।
गठबन्धनका कारण जित्न सहज भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति चुणामणि खनाल बताउँछन् । एमालेबाट जितेका जनप्रतिनिधिले जनगुनासो सम्बोधन नगरेका कारण कांग्रेसलाइ सहज भएको उनको भनाइ छ ।
‘लामो समय जितेर गएकाहरुले जनताको जनचाहना अनुसार काम नगरेको अवस्थाले चुनाव जित्न सहज बन्यो’, उनले भने, ‘जनताले परिर्वतन चाहिरहेका छन् ।’ हारेको ठाउँ भएपनि अनवरत रुपमा संगठन निर्माणमा जुटेको उनले सुनाए ।
एमालेले पनि गठबन्धन नै पराजयको मुख्य कारण भएको ठहर गरेको छ । एमालेका पोलिटब्युरो सदस्य टुकराज सिग्देल एमालेलाई परास्त गर्नकै निम्ति गठबन्धन भएको बताउँछन् ।
एमालेलाई पराजित गर्न सत्ताको दुरुपयोग भएको सिग्देलको आरोप छ । उनले भने, ‘सत्ताको तर्फबाट नगर्नुपर्ने कामहरु भए । पैसाको चलखेल पनि त्यत्तिकै भयो, रोक्न सकिएन ।’
एमालेको संगठनलाई चलायमान बनाउन नसक्दा पनि नतिजा विपरित आएको सिग्देलले बताए । सिग्देलका अनुसार सरकारमा हुँदा एमालेले गरेको काम जनतालाई बुझाउन नसक्नु पराजयको अर्को कारण हो ।
एमालेकै पकेट क्षेत्रमै कम मत खसेका एमालेले विश्लेषण गरेको छ ।
श्यामराजाको पहिलो यात्रामै सफलता

बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयरमा लड्न चहान्थे श्यामराजा महत । टिकटका लागि उनले दौडधुप नगरेका पनि होइनन् । प्रदेशदेखि केन्द्रका नेतासँग उनले टिकटको लविङ गरेपनि पाएनन् ।
मेयरमा नपत्याइएका श्यामराजाले प्रदेश सभाको टिकट सहजै पाएर पनि जितेका छन् ।
बलियो मानिएको सत्ता गठबन्धनलाई पार लगाउदै उनले पहिलो संसदीय यात्रामै सफलता हासिल गरेका छन् । सम्भवत उनको जितले तनहुँमा नेकपा एमाले पत्तासाफ हुनबाट जोगिनेछ ।
श्यामराजाले नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई एक हजार ७६६ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । महतले १५ हजार ६६५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे । ३७ हजार ८२९ मत खसेको थियो । यो प्रदेश क्षेत्रमा शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिकाको ५ र ६ सँगै म्याग्दे गाउँपालिका पर्दछ ।
न्यौपाने पराजित भएसँगै माओवादीले गठबन्धन सहयात्री दल कांग्रेसले गम्भीर घात गरेको आरोप लगाएको छ । गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसबाट गम्भीर घात भएपछि अनपेक्षित पराजय व्यहोर्नुपरेको नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेको आरोप छ ।
उनले भनेका छन्, ‘गठबन्धनको राजनीतिक संस्कार र लोकतन्त्रको मूल्य मान्यतालाई थप धुमिल बानएको छ ।’
एमालेसँग पारिवारिक बदला लिएका जितप्रकाश

एमालेको गढ तनहुँ २ मा कांग्रेसबाट टिकट पाएर सधैं पराजित हुने उम्मेदवार एउटै परिवारका हुन् । २०४८ सालमा पदमबहादुर आले पराजित भएपछि २०५१ र २०७४ मा मात्रै उनको परिवारले टिकट पाएन ।
२०५६ मा कांग्रेसले पदमबहादुरका भाई विष्णुविर आलेलाई टिकट दिएर पनि उनको संसदीय यात्रा सुरु हुन सकेन । २०६४ मा पदमबहादुरका जेठा ज्वाइँ ताराराज रानाले टिकट पाए, उनको पनि जोर चलेन ।
२०७० सालमा पदमबहादुरका अन्तरे छोरा जितप्रकाश आलेले पनि संसद छिर्ने गरी जनमत पाउन सकेनन् । आले परिवारको संसदीय यात्रामा २०४८ र २०६४ मा एमालेका किरण गुरुङले ब्रेक लगाइदिएका थिए ।
२०५६ र २०७० सालको चुनावमा एमालेका टुकराज सिग्देल आले परिवारको संसदीय यात्राको बाधक बने ।
तनहुँ २ ‘ख’ मा जितप्रकाश आलेले यसपालि फेरी टिकट पाए । आलेको चुनावी भिडन्त जुरेको थियो २०७० मा पराजित गरेका टुकराजका भाइ केदार सिग्देलसँग ।
एमालेको गढ मानिएको क्षेत्रमा त्यो पनि प्रतिनिधि सभाबाट प्रदेश ओर्लिएका केदारसँगको भिडन्त कम चुनौतिपूर्ण थिएन् । तर, चुनौतिलाई चिर्दै जितप्रकाशले दोस्रो प्रयासमा गण्डकी प्रदेश सभाको यात्रा तय गरेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले ६४० मतान्तरले विजयी भएका हुन् । आलेले १३ हजार ८६० मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए । उपाध्यायका अनुसार नेकपा एमालेका केदार सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा २९ हजार ८९८ मत खसेको थियो ।
यो प्रदेशमा भिमाद नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका यो क्षेत्रमा पर्दछ ।
प्रदेश सभामा निर्वाचित आले नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट आलेले १४ औं महाधिवेशनमा जिल्ला सभापति बन्नका लागि पौडेललाई छाडेर सभापति शेरबहादुर देउवाको पक्षमा खुलेका थिए ।
प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०४:३०




