फुटपाथजस्ताे जिन्दगीमा
खुद्रा सपना बेचिरहेछाै हामी
उपद्राे मच्चाउछ हाम्राे जिन्दगीमा घरिघरि एउटा साँढे
उर्फ, याे देशकाे सरकार !
घरीघरी उल्ट्याउँछ आफ्नै टिसर्ट
र, देखाउँछ फोहोरी नाइटो
ठाउँ कुठाउँमा हात घुसारेर कन्याउँछ निर्लज्ज
र, देखाउँछ बर्षौदेखि विवेकको मञ्जन नपरेका दाँतहरु
शर्मले निगुरो बाँचिरहेछाै हामीहरू।
निर्लज्जताको काँधमा चढेर हाँसिरहेछ याे सरकार ।
नबाेल्नु, नसुन्नु र नहेर्नु
नाथे, राजनीतिक फ्लुका केहि बोरा चामल र बिजुली पानीहरू !
तिम्रा फुटपाथका खुद्रा सपनाहरू
हाम्राे समृद्दी यात्राका बाधक हुन् ।
माैन बस्नु, र माैन मर्नु
नाथे, भाषणका एकजोर थपडीहरू
तिम्रा चेतना र विवेकका स्वरहरू
हाम्राे लाल यात्राका अवराेध हुन ।
सपनाहरुको पत्रे चट्टानमुनि छन् जनता ।
बजारमुल्यको नयाँ सुचिभन्दा माथि बसेर हाँसिरहेछ मेरो देशको सरकार ।
काम नगरि कमाउनुपर्ने कार्यकर्ताहरु
सेवा नगरि स्थापित समाजसेवीहरु
माफिया, तस्कर, दलाल र बजारमुल्यका निर्माताहरु,
कानुनका ब्याख्या र अपब्याख्याहरु,
हरु, हरु र यस्तै कैयन हरुहरुको जगमा उभिएको पहाड हो सरकार ।
नाथे एउटा दुव्लो सिरेटो कुहिनो ठेलिरहेछ विथ्थामा !
सरकार, खान नपाएर मर्नेहरुको चिहानमाथि बसेर हाँसिरहेकाे बेला
नखाएर मर्छु भन्ने त्यो नाथे गोविन्द केसी को हो ?
प्रकाशित मिति २०७७ असोज २४ गते शनिबार १०:४९




