२०८३ कात्तिक ११ गते मंगलबार

पर्यटकको ‘हनी हन्टिङ’ हेर्ने रहरः कोही दक्षिण अफ्रिकाबाट आए, कसैको पदयात्रा नै रद्द

पर्यटकको ‘हनी हन्टिङ’ हेर्ने रहरः कोही दक्षिण अफ्रिकाबाट आए, कसैको पदयात्रा नै रद्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३ गते आइतबार ०६:४३

पोखरा । गत २७ र २८ मंसिरमा कास्कीको लान्द्रुकमा ‘हनी हन्टिङ फेस्टिबल’ भएको थियो । कमै नेपालीले देखेको भीर मौरीको मह सिकार हेर्न विदेशीले भने खुबै चासो दिएको पाइयो । कोही त्यत्ति हेर्न लाखौँ खर्च गरेर नेपाल आएका थिए भने कसैले आफ्नो...

पोखरा । गत २७ र २८ मंसिरमा कास्कीको लान्द्रुकमा ‘हनी हन्टिङ फेस्टिबल’ भएको थियो । कमै नेपालीले देखेको भीर मौरीको मह सिकार हेर्न विदेशीले भने खुबै चासो दिएको पाइयो । कोही त्यत्ति हेर्न लाखौँ खर्च गरेर नेपाल आएका थिए भने कसैले आफ्नो निर्धारित पदयात्रा नै रद्द गरे ।

दक्षिण अफ्रिकादेखि नेपाल

दक्षिण अफ्रिकाका बेनार्ड लामेर्डिङ र केल्भिन कुइट २२ मंसिर (११ डिसेम्बर)मा नेपाल आएका थिए । हनी हन्टिङ हेर्न एक हप्तालाई नेपाल आएका उनीहरु शनिबार स्वदेश फर्किएका छन् ।

युट्युबको भिडियो देखेपछि उनीहरुलाई प्रत्यक्ष हेर्न मन लागेको रहेछ । ‘दुई वर्षअघि हनी हन्टिङ गरेको डकुमेन्ट्री देखेको थिएँ । त्यसपछि मैले त्यो भिडियो साथीहरुलाई पठाएँ,’ कुइटले सुनाए, ‘साथीले एकपटक जाऊँ भनेपछि हामी आयौँ । हनी हन्टिङ गर्ने त सत्य रहेछ !’

दुवै जना एक हप्ताअघि काठमाडौँबाट पोखरा, धम्पुस हुँदै लान्द्रुक पुगेका थिए । भिडियोमा देखेको मह सिकार आफ्नै अगाडि देख्न पाउँदा कुइट आफूलाई भाग्यमानी ठान्छन् । ‘म अफ्रिका बाहिर पहिलोपटक नेपाल आएको हो र हनी हन्टिङ पनि पहिलोपटक देख्न पाएँ,’ कुइटले भने, ‘मैले त सपना देखेकोजस्तै अनुभव गरेँ । मह झिक्नलाई मान्छे भीरमा झुण्डिएको देख्दा त उनीहरू ‘पागल’ नै रहेछन्जस्तो लाग्यो । आफ्नै आँखाअगाडि त्यस्तो देख्न पाउने म निकै भाग्यमानी हुँ ।’


दुई साथीलाई खेनपालुङ एड्भेन्चरले लान्द्रुकसम्म पुर्‍याएको हो । एडभेन्चरका गाइड दावा शेर्पाले बताएअनुसार उनीहरु एक वर्षअघि नै नेपाल आउने योजनामा थिए । ‘नेपाल आउने भनेर दुई वर्ष पहिला नै पक्का भएको थियो । २०२१ मा कोरोना भाइरसले गर्दा आउन पाएनन् । हनी हन्टिङ हेर्न र मह चाख्न यो वर्ष एक हप्तालाई नेपाल आएका हुन्,’ उनले सुनाए ।

नेपाल आउँदादेखि फर्किंदासम्मका सबै गतिविधि उनीहरूको क्यामेरामा कैद छन् । ती तस्वीरहरू साथीभाइलाई देखाउने लामेर्डिङको सोच छ । ‘मैले धेरै फोटो खिचेको छु । गाउँमा दिएको प्रमाणपत्र पनि साथीहरूलाई देखाउँछु,’ लामेर्डिङले भने । मह सिकार हेर्न पुगेका दुवैले ८० हजार रूपैयाँ फेस्टिबल आयोजकलाई सहयोग गरेका थिए ।

जसले पदयात्रा नै रद्द गरिन्

यूरोपियन देश चेक रिपब्लिककी मार्टिना स्ट्रेइजकोभा एक महिनाअघि नेपाल आएकी थिइन् । पदयात्रालाई मात्र नेपाल आएकी उनले भीर मौरीको मह सिकार गरेको देख्न पाइन् ।

अन्नपूर्ण आधार शिविर, पुनहिल पुगेर फर्केपछि २४ मंसिरमा मार्टिना लान्द्रुक पुगेकी थिइन् । २५ मंसिरमा मर्दी हिमाल पदयात्रामा निस्किने योजना थियो । तर, हनी हन्टिङ हेर्न उनले आफ्नो तीन दिनको मर्दी हिमाल पदयात्रा रद्द गरेर लान्द्रुकमै बसिन् । उनी शुक्रबार स्वदेश फर्किएकी छन् ।

अक्करे भीरमा मान्छे झुण्डिएको देख्दा उनी अचम्मित रहिन् । ‘मेरो नजरमा मह सिकार गर्नेहरु निकै बहादुर रहे किनकि म त त्यो गर्न सक्दिनँ । सिकारमा प्रयोग हुने डोरी, भाँडा र सामग्री पनि देख्न पाएँ,’ उनले अनुभव सुनाइन् ।

योपटक मह सिकार हेर्न रद्द गरेको मर्दी हिमाल पदयात्रा गर्न मार्टिना अर्को वर्ष अक्टोबरमा नेपाल आउँदै छिन् ।

प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०६:४३
हजुरको प्रतिक्रिया