पोखरा
नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले प्याराग्लाडिङको मज्जा लिएका छन् । सोमबार दिउँसो ओबरायले पोखराको आकाशमा प्याराग्लाडिङको मज्जा लिएका हुन् ।
पोखराको सराङकोटबाट दिउँसो प्याराग्लाइडिङ उडान भरेका उनी फेवा किनारमा ओर्लिए । स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले ओबरायलाई प्याराग्लाइडिङमा उडाए । करिब ४५ मिनेट उनले प्याराग्लाइडिङको मज्जा लिए । पोखराको आकाशमा फन्को मार्दै ओबरायले भने, ‘पोखरा अति सुन्दर छ । नेपाल अति सुन्दर छ ।’ प्याराग्लाइङिमा उड्दै गर्दा आफूलाई चिल जस्तै सम्झिएको सुनाए । निकै आश्चर्य महशुुस गरेको उनले बताए ।
ओबरायले फेरि पोखरा आउने इच्छा व्यक्त गरेको स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले बताए । ‘उहाँले १५ दिनको समय मिलाएर फेरि पोखरा आउने बताउनुभएको छ । सोलो पाइलट ट्रेनिङ गर्ने इच्छा गर्नुभएको छ’, उनले भने ।
ओबराय उनको श्रीमति छोराछोरीसहित परिवारका १० सदस्यले पोखराको आकाशमा फन्को मारेका हुन् । बाबु सुरेश ओबरायले पोखराको प्याराग्लाइडिङ गरेनन् । उनी मझेरीपाटनको हिमालय गल्फ कोर्समा गए ।
भारतीय अभिनेता ओबराय परिवारसहित नेपाल भ्रमणमा छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ओर्लिएका ओबेराय शुक्रबार पर्यटकीय नगरी पोखरा आए । उनले पोखरामा आएपछि जिपलाइन, बञ्जि, एटिभी, हट एयर बेलुन र स्काइक्रिमरको मज्जा लिइसकेका थिए । ११ सदस्यसहित पोखरा आइपुगेको उनको नेपाल भ्रमण पहिलो हो । ओबराय सोमबार मुस्ताङको मुक्तिनाथ मन्दिर, एविसि र पुनहिल जाने तालिका भएपनि मौसम खराबीका कारण पुरा भएन ।
पोखराको घुमघाम सकाएर ओबराय भैरहवा हुँदै गौतम बुद्धको भूमि लुम्बिनी दर्शनको लागि जानेछन् । गत बुधबार काठमाडौं ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडामा उक्लिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर समेत उनले भेटेका छन् । व्यवसायी पुनम यादवको पहलमा ओेबराय नेपाल आएका हुन् ।





