२०८३ साउन २१ गते बिहीबार

ओली र प्रचण्डलाई भेटे मुख्यमन्त्री खगराजले, होला त प्रदेश मन्त्री परिषद् विस्तार ?

ओली र प्रचण्डलाई भेटे मुख्यमन्त्री खगराजले, होला त प्रदेश मन्त्री परिषद् विस्तार ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २७ गते बुधबार ०९:२८

अधिकारी काठमाडौंको राजनीतिक भेटघाट सकेर अहिले बिहान १० बजे पोखरा फर्किदैंछन् । उनले आज दिउँसो पोखरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखरा

मुख्यमन्त्री नियुक्त भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । अधिकारीले मंगलबार ओलीसँग र बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीति, प्रदेश मन्त्री परिषद् विस्तार र संघियतालाई बलियो बनाउने बारेमा छलफल भएको अधिकारीले बताए । प्रचण्डसँगको भेटमा भएको छलफलबारे जानकारी दिंदै अधिकारीले भने, ‘काम गर्ने सवालमा तपाईंको र मेरो स्पिरिट मिलेको छ, केन्द्र सरकार तपाईं हाक्नुस्, प्रदेश म हाँक्छु भनें ।’

भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको अधिकारीले जानकारी दिए । प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा आफूले बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले आफूलाई बधाई दिएको पनि उनले बताए । एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिंदैछन् । प्रचण्डले पाएको जस्तै असाधारण विश्वासको मत पाउन आफूले पनि कोसिस गर्ने मुख्यमन्त्री अधिकारीले बताए ।

अधिकारीले नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र राजीव गुरुङ (दीपक मनाङे)सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुरयाउन ३१ सिट चाहिन्छ । अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदले समर्थन गरेका थिए ।
अधिकारीले शुक्रबार विश्वास मत लिदैंछन् । केन्द्रको भेटघाट पछि गण्डकीको मन्त्री परिषद् विस्तार हुने पनि आँकलन गरिएको छ । तर, विश्वासको मत अघि की पछि मन्त्री परिषद् विस्तार हुन्छ अहिले नै भन्न नसकिने एमाले गण्डकीका एक नेताले बताए ।

 

प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार ०९:२८
हजुरको प्रतिक्रिया