पोखरा
आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौं राष्ट्रिय योग दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेका थियो । यसअघि २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो ।
पोखरामा योग शिविर
दिवसको अवसरमा पोखरामा एक दिने योग शिविर आयोजना गरिएको छ । गणेश तथा भद्रकाली मन्दिर पोखरा १२÷१३ शान्ति बाटिका माछापोखरीमा योग शिविर आयोजना गरिएको हो । शिविरको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।
डाक्टर योगी विकासानन्दज्यको उपस्थितिमा आज बिहान ७ बजेदेखि १० बजेसम्म शिविर आयोजना गरिएको हो । गण्डकी आयूर्वेद औषधालय, पोखरा महानगर स्वास्थ्य महाशाखा, गणेश तथा भद्रकाली मन्दिर सेवा समिति, पतञ्जली योग समिति नेपाल लगायतका संस्थाले शिविरको आयोजना गरेका हुन् ।
प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०९:३०



