पोखरा
दैलो उघारेर आँखा खोल्दा देखिने फेवाताल र पोखरा बजार । टलक्कै टल्कने हिमालका दृश्य ।
गाउँको शिरानमा पञ्चासेको डाँडा । सराङकोट र पुम्दीकोटको टाकुरासँग जोडिएको चापाकोट पर्यटनमा वामे सार्दैछ ।
पुरिएर साँघुरिदै गएको फेवाताल र गाउँघर रित्तिदा फैलिएको पोखरा बजारको विकासलाई एकनासले नियालिरहेको चापाकोटले पोखरा आएका पर्यटक गाउँ उकालेर आर्थिक सम्बृद्वीको बाटोमा हिँड्न सम्भावना खोज्दैछ ।
चापाकोट साक्षी बसेको पोखरा, फेवाताल, सराङकोट, पुम्दी र पञ्चासेले जस्तै पर्यटक घुमाएर गाउँको मुहार फेर्न चहान्छ ।
गाउँको प्राकृतिक, धार्मिक, साँस्कृतिक सम्पदाको प्रचार गरेर आयआर्जनमा वृद्धि गर्न चाहेका गाउँलेले सोचे जस्तै चापाकोट उक्लिने पर्यटक संख्या छैन ।
पोखरा महानगरपालिका–२३ चापाकोटको पर्यटन प्रबद्र्धन र प्रचारप्रसारका लागि चापाकोट देउराली सामुदायीक होमस्टे साँस्कृतिक महोत्सव गर्न गाउँले जुटेका छन् । माघ २४ देखि २८ गतेसम्म हुने महोत्सव तेस्रो संस्करण हो ।
यसअगाडी चापाकोटमा गत बर्ष र कोभिड अगाडि २०७६ सालमा गरेर २ पटकसम्म महोत्सव भइसकेको छ ।
गाउँको विकास र पर्यटन प्रबद्र्धनका लागि महोत्सवको सहारा लिएको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताए । ‘पोखराको नजिक भएर पनि आझेलमा प¥यो गाउँ । गाउँको पहिचानका र विकासका लागि महोत्सव गर्दैछौं’, उनले भने ।
पोखराबाट नजिकै भएर पनि चापाकोटले कर्णालीको नियती भोगिरहेको उनको भनाई छ । गएका दुई संस्करणको महोत्सवले गाउँमा विकास भित्राएको उनले बताए ।
पराजुली भन्छन्, ‘पोखरा महानगरपालिकाको एक हात पनि कालोपत्रे सडक नपुगेको वडाको रुपमा चिनिन्थ्यो । अहिले सडक कालोपत्रेको काम सुरु भएको छ ।’
महोत्सवले कोदोबाट बनाइएको सेलरोटीलाई विशेष परिकारका रुपमा महोत्सवले पस्कदैंछ । गाउँमा फलेका लप्सी र दमौरा पनि चापाकोट पुग्नेले महोत्सव अवधिमा स्वाद लिन पाउनेछन् । अर्गानिक मह, साग, दुधे पिडालुको बजारीकरणको लक्ष्य लिएको पराजुली बताउँछन् । कृषि पर्यटनलाई महोत्सवले जोड दिने उनको भनाई छ ।
पोखरा लेकसाइडस्थित हल्लनचोकबाट १२ किलोमिटरको दुरीमा चापाकोट छ । महोत्सव अवधिभर हल्लनचोकदेखि चापाकोटसम्म बसको व्यवस्थापन मिलाएको आयोजकको दाबी छ ।
महोत्सवको २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा चापाकोटवासीले गरेका छन् । आम्दानीले लेकसाइडदेखि चापाकोटसम्म सांकेतिक बोर्ड राख्ने महोत्सव संयोजक चेतनाथ देवकोटाले बताए ।
चापाकोटको प्रचारप्रसार गर्न डकुमेन्ट्री निर्माण, वेभसाइट, पर्चा, पम्लेट र पुस्तक छपाई गर्ने योजना रहेको उनले सुनाए । ‘पर्यटन प्रवद्र्धन गर्न बाम्दीबाट सुरु भइ पुम्दीकोट पुग्ने सिँढी बाटो बनाउने योजना छ । अहिले सञ्चालनमा रहेका होमस्टेलाइ थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयासमा छौं’, देवकोटाले भने ।
महोत्सव मनोरञ्जनका लागि नभएर पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने वडाध्यक्ष रामकाजी गुरुङको विश्वास छ । उनका अनुसार यसअगाडि गरिएको महोत्सवले तीन तहका सरकारबाट पर्यटन र पुर्वाधार विकासमा २० करोड रुपैयाँ बढी बजेट प्राप्त भएको छ ।
चापाकोट फेवातालमा पाइने असला माछाको स्वाद लिनलाइ उपयुक्त गन्तव्य हुने उनले बताए । तर, मानव अतिक्रमणको चपेटामा परेको फेवातालमा असला विस्तारै लोपन्मुख छ ।
प्रकाशित मिति २०७९ माघ २२ गते आइतबार ०५:४२




