२०८३ साउन २१ गते बिहीबार

चितुवा बोकेको भाइरल तस्वीरको यस्ताे छ वास्तविकता

सुमनजंग थापा

@Public 4K Tv

२०७९ फागुन १९ गते शुक्रबार ०५:४६

‘मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन,’ उनले भने ।

कुश्मा
पर्वतमा शुक्रवार बिहान एउटा गाउँमा चितुवा भेटियो । त्यसको केही छिनमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भयो ।

पर्वतबासीहरू साहसी र बहादुर भएको भन्दै अहिले सामाजिक सञ्जालमा प्रतिक्रियाको सिलसिला रोकिएको छैन । तर, चितुवा बोकेको भाइरल तस्वीरको भित्री कथा भने अर्कै छ ।

सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै भाइरल भइरहेको तस्वीर कथा भने झुटो भएको प्रहरीले जानकारी दिएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

‘हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौं । बेहोस अवस्थामा रहेको चितुवा एकै छिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनी खस्यो,’ कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, ‘त्यसको १० मिनेटपछि चितुवा म¥यो ।’

अधिकारीका अनुसार नियन्त्रणमा आएको केही मिनेटमै चितुवाको मृत्यु भएपछि स्थानीयले मृत चितुवालाई उचालेर तँछाडमछाड् गर्दै सामाजिक सञ्जालमा राख्न भ्याएका हुन् ।

‘मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन,’ उनले भने ।

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपु¥याएको छ । कार्यालयले चितुवा बुढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ ।

‘चितुवाचाहिँ २० केजी जतिको छ,’ निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, ‘बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जंगलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।’

एक वर्ष अघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकहरूको उपचारपश्चात् चितुवा तन्दुरुस्त भएकोले निकुञ्ज छेउको जंगलमा छोडिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ०५:४६
हजुरको प्रतिक्रिया