२०८३ साउन २१ गते बिहीबार

पर्यटकले गुल्जार घान्द्रुक

पर्यटकले गुल्जार घान्द्रुक

विनोद ढुंगाना

@Public 4K Tv

२०८० वैशाख २ गते शनिबार ०८:४२

बिहिबारदेखि औसत भन्दा पर्यटकको संख्या बढेको बताए । ‘सबै होटलको अकुपेन्सी राम्रो छ । होटलवाला खुशी छन्, बिजी छन्’, किसमले भने ।

पोखरा

नयाँ वर्ष मनाउन आएका पाहुनाले आँगन खचाखच छ । गुरुङ पोशाकमा ठाटिएर कोही टिकटकमा भिडियो बनाउँदै त कोही फोटो खिच्दै छन् ।

पिँढीको डिलको गमलामा मुस्काइरहेका फुलसँग मितेरी गाँसेर क्यामेरामा मुस्कान भर्न पाहुना व्यस्त थिए । त्यही भिडमा गुरुङ पोशाक लगाउने पखाईमा घण्टौंदेखि प्रतिक्षारत पनि थिए । शनिबार विहानको दृश्य हो, यो ।

घान्द्रुक आउने पाहुनालाई २५ वर्षदेखि आतिथ्यता सत्कार पस्किरहेको ‘गुरुङ कटेज’ को डाइनिङ हलभित्र पस्दा सञ्चालक किसम गुरुङ मोबाइल कुराकानीमा व्यस्त थिए । होटल बुकिङ गर्न आएको फोन रहेछ । ‘मेरोमा त प्याक भइसकेको छ हजुर । अन्त के छ कुन्नी, एक पटक बुझ्नुहोला’, अन्तिम संवादपछि फोन राखे ।

पाहुनाको सत्कारमा व्यस्त किसमले हतारोकाबीच केहीबेर गफिने समय मिलाए । बिहिबारदेखि औसत भन्दा पर्यटकको संख्या बढेको बताए । ‘सबै होटलको अकुपेन्सी राम्रो छ । होटलवाला खुशी छन्, बिजी छन्’, किसमले भने । जति धेरै पर्यटकको सेवा गर्ने मौका मिल्छ उति नै खुशी मिल्ने उनले सुनाए ।

होटल सांग्रिला इको भिलेजका सञ्चालक धुर्व गुरुङलाइ पनि नयाँ वर्षले व्यस्त बनाइदियो । उनको होटलका २ वटा कोठा मात्रै नयाँ वर्षलाई पहिल्यै बुकिङ भएको थियो । तर, शुक्रबार साँझ होटल भरिभराउ भएको उनले बताए । ‘नयाँ वर्ष मनाउनलाई टाढा टाढाबाट पाहुना आएर एक्कासी भरिभराउ भयो । नसोचेको पाहुना हुदाँ भ्याइनभ्याइ पो भयो’, उनले भने ।

 

 

नयाँ वर्षको दिन शुक्रबार मात्रै २ हजार बढी पर्यटक आएको पर्यटन व्यवसायी समिति घान्द्रुकका अध्यक्ष विक्रम गुरुङ बताउँछन् ।

‘नयाँ वर्षमा पर्यटक व्यापक नै भयो । लगभग २ हजार आन्तरिक पर्यटक आए । विदेशी टुरिस्ट चाहीं झन्डै सय जना जति थिए’, उनले भने ।

गुरुङका अनुसार घान्द्रुकमा ५५ होटल र १८ होमस्टे सञ्चालनमा छन् । होटल र होमस्टेका कोठा पाहुनालाई अपुग भएपछि घरमा पनि व्यवस्थापन गरेको उनले बताए । ‘कोही खुशी भए, कोही दुखि पनि भयो होला । सबैको चित्त बुझाउन सकिएन’, उनको भनाइ छ ।

सडक मर्मत गर्नलाई बाटो बन्द हुँदा पाहुना घटेका थिए । नयाँ वर्षलाई मध्यनजर गरेर बाटो खुला गरेपछि पाहुनाको ‘फ्लो’ बढेको अध्यक्ष गुरुङले बताए । चिनले नेपाल भ्रमणका लागि लगाएको प्रतिबन्ध हटाएसँगै पाहुना अझै बढ्ने उनको अनुमान छ । अब आन्तरिक र बाह्य पर्यटक दुवैको संख्या बढ्ने उनको भनाइ छ । ‘अक्टुबर नोभोम्बरमा चाही सायद घान्द्रुकमा पाहुनालाई बस्ने ठाउँ पनि हुँदैनहोला’ पर्यटकको चाप बढ्ने अड्कल काट्दै उनले भने ।

 

 

नयाँ वर्ष मनाउन काठमाडौं, भक्तपुर, चितवन, धरान, तनहुँ, पाल्पा लगायतका जिल्लाबाट पर्यटक घान्द्रुक उक्लिए । तन्नेरी पुस्ता मात्र नभएर सपरिवार नयाँ वर्ष मनाउन घान्द्रुक उक्लने धेरै थिए ।

तिनैमध्यका हुन्, तनहुँ दुलेगौँडाका राजेन्द्र पौडेल । छोराछोरी र आफन्तसहित नयाँ वर्ष मनाउन घान्द्रुक आएको पौडेलले बताए । ‘बच्चाबच्चीको स्कुल छुट्टी थियो । नयाँ वर्ष रमाइलो गरेर मनाउने प्लानिङ भयो र घान्द्रुक आयौं’, उनले भने ।

खासमा उनले बाग्लुङकोे पञ्चकोट घुम्ने योजना बुनेका थिए । छोराछोरीको रोजाईमा घान्द्रुक परेपछि नयाँपूलबाट बाटो मोडेर घान्द्रुक उक्लिए । ‘घान्द्रुक सुनैको नाम थियो । एक पटक आउनै पर्ने हो, आयौं’, उनले सुनाए ।

हप्ता दिनदेखि देशैभर मौसम खुलेको छैन । सामाजिक सञ्जालमा देखिएको हिमालको दृश्य पृष्ठभूमिमा पारेर तस्बिर खिचाउने रहरसहित घान्द्रुक आएका पर्यटकलाई मौसमले भने निराश बनाइदियो ।

गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुंगेनी बस्तीमा आजकाल ढलान घर बग्रेल्तीले थपिदैछन् । हर घरको झ्यालको पर्दा खोल्दा आँखामा ठोक्किन्छ । माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखला । चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक हो ।

घान्द्रुकले सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि पर्यटकलाई आतिथ्य सत्कार टक्रयाउन थालेको हो । विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक विस्तारै पर्यटनमा निर्भर बन्यो । क्याम्पिङ थलो घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुले ।

कोरोनाको बेला ठप्प भएको घान्द्रुक त्यसलगत्तै जुर्मुाउन थालेको हो । अहिले घान्द्रुक उक्लने आन्तरिक पर्यटकको संख्या बाक्लो छ ।

प्रकाशित मिति २०८० वैशाख २ गते शनिबार ०८:४२
हजुरको प्रतिक्रिया