कविता
समयको पाईडल धकेल्दै
दिन, महिना र वर्षहरूका घुम्तीहरू छिचोल्दै
समाज, देश र विश्वलाई टिरिङ-टिरिङ घण्टी बजाएर जिस्काउदै
तिम्रो पुरुषार्थ बन्दै गयो विश्व किर्तीमानी साईकल यात्री तिम्रै अहमताको विश्वमा
सिगारिदिईन स्पोक, सिट र ह्याण्डलहरू
कसैले भरिदिईन जिम्मा लिएर सृष्टिको हावा, ट्युबमा
व्रत, पुजा गरेर तन्दुरुस्त राखिदिईन ब्रेक
बदलामा मिल्यो
परिक्षा लिने बाटाहरू
शंका गर्ने/आरोप लगाउने र लडाउने भिरहरू
रगत, पसिना र मनोरञ्जन एकैसाथ माग्ने दुर्घटनाहरू
अस्तित्वको लेगगार्डमा आशुको हिलो छ्यापिरहने, समाज
तर
अब उल्टो कुदाउनु पर्छ साईकल उस्का लागी
जस्को घाँटीमा चेन लगाएर सफल बनेको थियो यात्रा
यतिका वर्ष
तिम्रो थरको अस्तित्व बिर्सिएर तिमीले पनि
चढाउन पर्छ उनको थरलाई पछाडी
कुमारदान भएर तिमी पनि, छोडेर आउनुपर्छ आफ्नो आँगन
रूवाएर आफ्ना आकाश-धर्ती
ठिकै छ
नमारौंला भ्रुणमा तिमीलाई
नलिउँला कुनै परिक्षा तिम्रो पत्निव्रताको, शंकाको आधारमा
नछ्यापुँला जबर्जस्ती प्रेमको एसिड
नजलाउँला दाईजोको निहुँमा तिम्रो जिन्दगी
नगरूँला बलात्कार, नबसाऔंला कुनै व्रत, नदिँउला यातना
ल!! बस पछाडी
तिम्रो लागि मैले समानताको सिट जोडिदिएकी छु
आरक्षणको होईन ।
© सुरज पराजुली
प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०१:१६




