२०८३ साउन २१ गते बिहीबार

गुुरुङ पोशाकले घान्द्रुकको ‘रिब्रान्डिङ’

गुुरुङ पोशाकले घान्द्रुकको ‘रिब्रान्डिङ’

विनोद ढुंगाना

@Public 4K Tv

२०८० वैशाख ८ गते शुक्रबार १०:०९

परम्परागत शैलीले बनेका घरको पिँढीमा मुस्कुराइरहेका फूललाई पृष्ठभुमिमा राखेर तस्बिर र भिडियो खिच्न पाएपछि पर्यटक दंग पर्छन् ।

पोखरा

गुजुमुज्ज परेको ढुंगेनी बस्ती । हर घरको झ्यालको पर्दा खोल्दा आँखामा ठोक्किन्छ, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृंखला । गुरुङ संस्कार सँस्कृति । पर्यटकलाई घान्द्रुकमा लोभ्याउने विशेषता यिनै हुन् ।

चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक आफैंमा ग्रामिण पर्यटनको ब्रान्ड हो । सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि घान्द्रुकले विदेशी पर्यटकलाई आतिथ्यता सत्कार टक्रयाउन थालेको हो ।

विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक अचेल पर्यटनमा निर्भर छ । क्याम्पिङ गर्न पदयात्रा गर्ने विदेशी पर्यटक बढेपछि घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुलेका छन् । मोटरबाटोसँगै घान्द्रुकमा आधुनिकता उक्लिएको छ । बुङ्बुङ्ती धुलो उडाँउदै सवारी गुड्न थालेपछि आन्तरिक पर्यटक पनि बढिरहेका छन् ।

ग्रामिण पर्यटनमा स्थापित ब्रान्ड घान्द्रुकलाई सामाजिक सञ्जालले ‘रिब्रान्डिङ’ गर्दैछ । गुरुङ समुदायको पोशाकमा सजिएर कैद गरेको तस्बिर-भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न लालायित आन्तरिक पर्यटकको संख्या घान्द्रुकमा बढिरहेका छन् । विशेषत सामाजिक सञ्जाल प्रयोगकर्ता तन्नेरी पुस्तालाई गुरुङ पोशाकले तानेको हो ।

घान्द्रुकका अधिकांश होटल र होमस्टेका आँगनमा शिरमा शिरबन्दी, घाँटीमा मुगामाला, चोली, घलेक र लुंगीको सट्टा लेहेंगामा सजिएका महिलाहरु भेटिन्छन् । शिरमा टोपी, गलामा गलबन्दी, भांग्रा, स्टकोट र कछाडमा ठाटिएका पुरुष तस्बिर र भिडियो कैद गर्दै रमाइरहेका हुन्छन् ।

आधुनिक पोशाकमा सजिएर घान्द्रुक उक्लिएका प्राय आन्तरिक पर्यटकको चाहना हुन्छ गुरुङ पोशाक लगाउने । परम्परागत शैलीले बनेका घरको पिँढीमा मुस्कुराइरहेका फूललाई पृष्ठभुमिमा राखेर तस्बिर र भिडियो खिच्न पाएपछि पर्यटक दंग पर्छन् ।

काठमाडौंबाट घान्द्रुक घुम्न पुगेकी रजनी ताम्राकारको पनि रहर थियो, ‘गुरुङ पोशाकमा सज्जिने ।’ उनले सामाजिक सञ्जालमा पोस्ट देखिकी थिइन गुरुङ पोशाकमा सजिएको । त्यसैले उनको पनि रहरको मिटर चढेको थियो । ‘यो लुगा लाउनलाई एकदमै एक्साइटेड थिए । पहिल्यै युट्युब, टिकटकमा हेरेको थिए यहाँ गुरुङ ड्रेस पाइन्छ भनेर । एकदम एक्साइटेड थिए यहाँ आएर यो ड्रेस लाउने भनेर । लगाएपछि यसको महत्व पनि थाहा भयो’, उनले अनुभति साटिन् ।

गुरुङ पोशाकले नेपालीपन झल्काएकाले लगाउन रहर बढेको उनको भनाइ थियो । घान्द्रुक आउनलाई नै मुख्य त गुरुङ पोशाकले नै लोभ्याएको रजनीले बताइन् । उनले २ घण्टा पर्खिएर गुरुङ पोशाकमा सज्जिने मौका पाएको सुनाइन् । चितवनकी कल्पना अधिकारीले पनि ३ घण्टाको प्रतिक्षा गरेर पालो पाइन् । ‘लगाउनैपर्छ भनेर ३ घण्टा पर्खेर लगाए’, उनले भनिन् । आफ्नो समुदायको संस्कार सँस्कृति बचाउनपर्छ महसुश समेत गराएको उनको भनाइ छ ।

पहिला संग्रहालय र एकाध होमस्टेमा मात्रै पाहुनालाई गुरुङ पोशाक लगाउने व्यवस्था थियो । पाहुनाको माग बढेपछि अधिकांश होटल र होमस्टेमा यो सुविधा थपियो । आधा घण्टा गुरुङ पोशाक लगाएको २०० रुपैयाँ तिर्नुपर्ने होटल वल्ड भिलेज इनका सञ्चालक कृष्ण गुरुङले बताए । भाडा तिरेरै पनि गुरुङ पोशाक पहिरन पर्यटकले घण्टौं प्रतिक्षा गरिरहेका हुन्छन् । गुरुङ पोशाकले घान्द्रुकमा एकातिर आम्दानी बढेको छ त अर्कोतर्फ सामाजिक सञ्जालले पाहुना तानेको छ । दिनमै सय जनाले भाडामा गुरुङ पोशाक लगाउने उनले बताए ।

उनका अनुसार गत असोजदेखि गुरुङ पोशाकमा सज्जिने पाहुनाको संख्या बढेको हो । ‘गुरुङ ड्रेस लाउनै भनेर घान्द्रुक आउँछन् कति पाहुना त’, उनले सुनाए, ‘युट्युब टिकटकले गर्दा यसको डिमान्ड बढी भो ।’ पर्यटकको भिड बढ्दा पोशाकले नपुग्ने उनले बताए ।

अन्त पोशाक लगाएर फोटो खिच्न आउने बढेपछि गुरुङ कटेजका सञ्चालक किसम गुरुङले पनि व्यवस्था गरिदिए । उनको आँगनमा हरेक दिन विहान गुरुङ पोशकमा सजिने पाहुना खचाखच हुन्छन् ।
स्थानीय आमा समूह दार्जलिङ भ्रमणबाट फर्केर आएपछि पाहुनालाई गुरुङ पोशाक लगाउने दिने अवधारणा ल्याएको किसमले जानकारी दिए । त्यहीं अवधारणाले पाहुना तान्न सफल भएको गुरुङ बताउँछन् । ‘के देखियो भने एक जनाले पोशाक लगाएको त २०० रुपैयाँ नै हो । तर, कति जना त गुरुङ ड्रेस मात्रै लगाउने भनेर आको देखियो पोखराबाट’, उनी भन्छन्, ‘त्यसले गर्दा प्लस त भयो नि । हेर्दा २०० रुपैयाँ हो । घान्द्रुकमा आउने फ्लो चाहीं बढ्यो ।’

पर्यटकलाई घान्द्रुक डाक्न गुरुङ पोशाक नयाँ ब्रान्डको रुपमा थपिएपनि उतिसारो मौलिक देखिदैन् । परम्परागत भन्दा बुटिकमा डिजाइन गरिएका पोशाक पहिरन सहज भएपछि पर्यटकले त्यही रुचाइरहेका छन् । पर्यटकसँगै घान्द्रुकवासीले आधुनिक भन्दा मौलिक पोशाकलाई प्राथमिकता दिन आवश्यक छ ।

प्रकाशित मिति २०८० वैशाख ८ गते शुक्रबार १०:०९

हजुरको प्रतिक्रिया