समन्वय समिति सेतो हात्ती हो, खारेज गरौं
पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरूङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउन सरकारलाई प्रस्ताव गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिँदै सांसद गुरूङले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताए । संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा र प्रदेशमा ७ वटा मन्त्रालय कायम हुँदा उचित हुने उनको भनाइ थियो ।
संघीय सरकारअन्तर्गतका विभागहरू घटाएर १५ विभाग कायम गर्नुपर्ने सांसद गुरूङले बताए । जिल्ला समन्वय समितिलाई सेतो हात्तीको संज्ञा दिँदै उनले संविधान नै संशोधन गरेर भए पनि त्यसलाई खारेज गर्नुपर्ने सुनाए ।
उनले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायका विषयमा सरकारले सोच्नुपर्ने बताए । उनले पूर्वाधारका सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।
प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार ०४:३०




