पोखरा
सत्तासाझेदार दल र कांग्रेसभित्र पनि मन्त्रीबारे सहमति नजुट्दा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तारमा बिलम्व भएको छ । कांग्रेसमा मन्त्रीका धेरै जना आकांक्षीले केन्द्रसम्म पुगेर कसरत गरिरहेका छन् भने एकीकृत समाजवादी पार्टीले पनि राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाउन दबाब दिँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निर्णयमा पुग्न नसकेका हुन् ।
मन्त्रालयको संख्या अघिल्ला मुख्यमन्त्री खगराज अधिकारीले १२ बाट ७ मा झारेपछि पाण्डेले पनि सोही संख्या कायम गराउने बताएका थिए । १४ गते मुख्यमन्त्री नियुक्त भएर १५ गते सपथ लिएकै दिन पाण्डेले कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागी मन्त्री बनाएका थिए । अब माओवादीले १ मन्त्रालय पाउने छ भने एकीकृत समाजवादीले मनाङलाई मन्त्री बनाउन केन्द्रबाट दबाब आइरहेको एक सांसदले बताए ।
अब कांग्रेसबाट २ मन्त्रीमात्रै पाउँदा टुंगो लगाउनसमेत गाह्रो परेको छ । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, लमजुङका टकराज गुरुङ, बागलुङबाट दिपेन्द्र थापा तथा डिल्ली सुवेदीबीच मन्त्री छान्न मुख्य समस्या परेको हो । माओवादीले एक मन्त्रालय पाउँदा खगराज सरकारमा पर्यटनमन्त्री रहेका रेशमबहादुर जुग्जाली मन्त्री हुने पक्काजस्तै छ ।
मुख्यमन्त्री पाण्डेले भने सत्ता साझेदारबीच सहमति भइसकेकोे तर मन्त्रालयको कार्यक्षेत्र मिलाउनुपर्ने भएकाले समय लागेको बताए । एकीकृत समाजवादीबाट मन्त्री बनाउने विषयमा छलफल भइरहेको र मन्त्री हुँदा सांसद रहेकै व्यक्ति मन्त्री हुने पाण्डेको भनाइ छ ।
प्रकाशित मिति २०८० वैशाख २८ गते बिहीबार ११:२३




