२०८३ साउन २१ गते बिहीबार

नागरिक समाजको पोखरामा शान्तिपूर्ण धर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १ गते सोमबार ०३:४२

उनले नेताहरुले नै देशलाई खोक्रो पार्ने काम गरेको भन्दै नागरिक सचेत नभए देश भड्खालोमा जाने चिन्ता व्यक्त गरे ।

पोखरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप र संरक्षण हुन नदिन देशभर नागरिकस्तरबाट निरन्तर खबरदारी कार्यक्रम छ । नागरिक समाज कास्कीले सोमबार शान्तिपूर्ण धर्नामार्फत दबाव दिएको छ । पोखराको शहिदचोकमा उपस्थित नागरिकले देशभक्तिका गीत बजाउँदै एक घण्टा शान्तिपूर्ण धर्नामा बसे । धर्नामा बसेका नागरिकको एउटै आवाज थियो, ‘देशमा भ्रष्टाचार मौलायो, दोषीलाई कारबाही होस् ।’

नागरिक अभियन्ता रामबहादुर पौडेलले अहिले सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणले देशमा भ्रष्टाचार कसरी मौलाएका छ प्रस्ट हुने बताए । उनले नेताहरुले नै देशलाई खोक्रो पार्ने काम गरेको भन्दै नागरिक सचेत नभए देश भड्खालोमा जाने चिन्ता व्यक्त गरे ।

अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौं रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिकको तर्फबाट खबरदारी बढेको छ ।

नक्कली शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अहिलेसम्म टोपबहादुर रायमाझी, रामशरण केसी, झापाका गोविन्द चौधरी, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति २०८० जेठ १ गते सोमबार ०३:४२
हजुरको प्रतिक्रिया