पोखरा
नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले म्याराथनमा दौडिरहेकाले कुनै लिगमा पछाडि पर्दैैमा नआत्तिने बताएका छन् । उपनिर्वाचिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत परिणामबारे ज्ञवालीले भने, ‘पानीदार घोडाको परीक्षा लामो दौडमा हुन्छ भन्छन् । हामी म्याराथनमा छौं । सय मिटर दौडको रेशमा होइन ।’
सय मिटरमा दौड हार्नेले म्याराथन जित्ने उनको दाबी छ । बिहिबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भने, ‘हामी म्याराथनमा छौं । कुनै कुनै लेगमा पछाडि प¥यौं भने ठुलो कुरा ठान्दैनौं । किन हामी त ६४ सालमा त्यो आँधीतुफान पनि व्यहोरेर आएका हौं । तत्कालिन माओवादीको २४० मध्ये १२० सिट, एमाले खुम्चिएर ३३ सिट । हाम्रा कतिपय नेताहरु एमालेको भविष्य छैन त्यही लगेर बिसाइदिउ भन्ने ठाउँमा हुँदाखेरि धुलो टकटक्याएर उठेका हौं ।’
चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प नेकपा एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भिरतापूर्वक हरेको तर नझस्किएको उनको दाबी छ ।
उनले असन्तृष्टी क्यास गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको बताए । ‘देशमा दुख छ, विडम्बना छ । यूवाहरु बेरोजगार छन् यो भन्न त धेरै पढिरहनु नि परेन । त्यो कसैले पनि भन्न सक्छ । तर, यसको समाधान के हो त ? यसबारेमा उहाँहरु (रास्वपा) प्रस्ट हुनुहुन्छ जस्तो मलाइ लाग्दैन्’, उनले भने ।
प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार १०:३१




