पोखरा
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नीति तथा कार्यक्रमलाई केन्द्रको कपिपेस्ट भएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि ल्याएको नीति तथा कार्यक्रम पूरा नहुने उनको तर्क छ ।
प्रदेश सभा सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘केन्द्रको कपिपेस्ट छ । यहाँ कुनै प्राण पनि छैन । यले कुनै गति पनि दिदैन ।’
गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका अधिकारीले रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि गर्न नसक्ने उल्लेख गरे । ‘राजस्व वृद्धि गर्ने कुनै क्षमता पनि राख्दैन । एउटा निष्प्राण जस्तो देखियो । यसमा गति पनि छैन, प्राण पनि छैन’, उनको भनाइ छ ।
अन्नपूर्ण सर्किटका नयाँ विकल्पहरु सुझाएकोमा विपक्षीको कुरा मानेको हुने भएकाले नीति तथा कार्यक्रममा समावेश नभएको उनको टिप्पणी छ । ‘कुनै कन्सट्रकटिभ नै छैन’, उनले भने ।
नारा सुन्दा राम्रा भएकै प्रतिक्रिया दिए । ‘सिद्धान्त र प्राथमिकतामा जे भनियाथ्यो ती कुरासँग यसको साइनो जोड्न बडो गाह्रो छ’, अधिकारीले टिप्पणी गरे, ‘तार टुटेको जस्तो र केन्द्रका धेरै कुराहरुलाई कपिपेस्ट गरेर मनोरञ्जन दिन्छ कि भन्ने जस्तो खालको छ ।’ मेहनत योजनाबिनै बनाइएको अधिकारीले बताए ।
प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०६:३९




