पोखरा
पोखरा महानगरपालिकाको प्रमुख गन्तव्यभित्र पर्छ, वडा नं. १७ मा रहेको गुप्तेश्वर गुफा र पातले छाँगो ।
सदाबहार पर्यटकको घुइँचो लाग्ने उक्त गुफा र डेभिज फल्सको नामले परिचित पातले छाँगोबाट महानगरलाई आम्दानी भने शून्य छ ।
गुप्तेश्वर गुफा र पातले छाँगोको जिम्मा छोरेपाटन माविले लिएको छ । गुफा र छाँगो प्रवेशबाट हुने आम्दानी स्कुलले नै राख्दै आएको छ ।
गुप्तेश्वर गुफाबाटमात्रै स्कुलले वार्षिक ३ करोड रुपैयाँभन्दा बढी र पातले छाँगो प्रवेश शुल्कबाट करिब १ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ ।
महानगरको आर्थिक ऐन २०७८ को दफा ४ अनुसार महानगरपालिकाभित्र कुनै व्यक्ति वा संघसंस्थाले ऐनको अनुसूची ६ बमोजिम त्यसरी आंशिक वा पुरै व्यापारिक तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग भए बहाल रकमको ८ प्रतिशत बहाल कर महानगरले पाउनुपर्ने व्यवस्था गरेको छ ।
तर, गुफा र छाँगोको आम्दानी राख्ने छोरेपाटन माविले करोडौं आम्दानी गर्दा पनि महानगरलाई बहालवापतको रकम भने बुझाएको छैन ।
सटर खालेर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएको छोरेपाटन माविले सटरको बहाल कर त तिर्दैन नै, पातले छाँगो र गुफाबाट हुने आम्दानीको कर पनि नतिरेपछि महालेखाले प्रश्न उठाएको छ ।
महालेखाले आर्थिक वर्ष ०७८÷७८ को आम्दानीमात्रै अध्ययन गरेकाले अन्य आर्थिक वर्षको आम्दानीबारे पनि अध्ययन हुनुपर्ने सुझाएको छ ।
महालेखाको हालै प्रकाशित ६० औं प्रतिवेदनले छोरेपाटन माविले सटर भाडाको बहाल करवापत महानगरलाई ५ लाख ८४ हजार रुपैयाँ, गुप्तेश्वर गुफाको आम्दानीबाट २४ लाख १२ हजार र पातले छाँगो (डेभिजफल्स) प्रवेश शुल्कवापत ७ लाख ९४ हजार रुपैयाँ महानगरलाई बुझाउन बाँकी रहेको देखाएको हो ।
महानगरलाई बहाल कर नतिर्ने छोरेपाटन माविमात्रै एक्लो होइन, महानगर क्षेत्रभित्र सटर लगायतका व्यवसाय गरिरहेका अन्य थुप्रै स्कुलले समेत लाखौं रुपैयाँ बहाल कर तिरेका छैनन् ।
महालेखा प्रतिवेदनका अनुसार छोरेपाटनसहित १७ विद्यालयले ५२ लाख ७० हजार रुपैयाँभन्दा बढी बहाल कर नतिरेको पाइएको हो ।
पोखरा वडा नं. १६ मा रहेको इन्द्रराज्य लक्ष्मीले सटर भाडावापत ३ लाख ३९ हजार रुपैयाँ तिरेको छैन ।
तालबाराही माविकले २ लाख ११ हजार रुपैयाँ, विन्ध्यविसिनी माविकले १ लाख ३९ हजार रुपैयाँ, अमरसिंह माविले २ लाख ८६ हजार रुपैयाँ तिरेका छैनन् ।
महानगरलाई बहालकर नतिर्ने स्कुलमा भद्रकाली सेकेन्डरी स्कुल, लक्ष्मीआदर्श मावि, जनज्योति मावि, सरस्वती टीका मावि, शान्तिउदय मावि, ज्ञानभूमि मावि, जनप्रकाश मावि, शुक्रराज बलभद्र मावि, नवप्रभात मावि, पार्दी मावि आदि छन् ।
‘…आर्थिक वर्ष ०७७÷७८ को प्रतिवेदनको आधार लिँदा विभिन्न विद्यालयले भाडावापत वार्षिक आम्दानी गरेकोमा विद्यालयहरुले आर्थिक ऐनले तोकेबमोजिम ८ प्रतिशतका दरले बहाल कर असुल गरेको देखिँदैन,’ महालेखाले भनेको छ, ‘अन्य आर्थिक वर्षकोसमेत महानगरले छानविन गरी बहाल कर असुल गर्नुपर्दछ ।’
प्रकाशित मिति २०८० जेठ २६ गते शुक्रबार ०५:५४




