२०८३ कात्तिक ११ गते मंगलबार

अतिथि सत्कार सिक्दै गण्डकीका होमस्टे सञ्चालक

अतिथि सत्कार सिक्दै गण्डकीका होमस्टे सञ्चालक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १० गते आइतबार ०६:५१

होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् ।

पोखरा

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ । गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने देशकै नमुना होमस्टे पनि यहीं छन् ।

हाल गण्डकीका ११ जिल्लामा २७५ बढी होमस्टेले अतिथि सत्कार टक्रयाईरहेका छन् । तिनै होमस्टेका सञ्चालक स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भएका छन् ।

गण्डकी प्रदेशभर भर्खर मात्र खुलेका होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् ।

होमस्टे (घरबास) महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्र्ड पोखरासँगको सहकार्यमा आधरभूत पर्यटन र घरबास तालिमको तारतम्य मिलाएको हो ।

तालिमको शनिबार राती फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष खेमनारायण पौडेलले शुभारम्भ गरे । पौडेलले होमस्टे सञ्चालकलाई यो तालिम कोशेढुंगा सावित हुने बताए ।

‘होमस्टे सञ्चालकबीचको अनुभव आदनप्रदानले धेरै कुरा सिकाउनेछ’, उनले भने । आर्थिक समृद्धिका लागि होमस्टेको प्रबर्द्धन र विकास आवश्यक रहेको उनको भनाइ छ ।

फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पुजा गुरुङले होमस्टेले उजाडिएका गाउँमा विकासको लहर ल्याउने बताइन् । ‘बसाइँसराइ झरेकालाई पनि होमस्टेले गाउँ फर्काएको छ’, उनले भनिन् ।

होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुरौंले तालिममा व्यक्तित्वसँगै सामाजिक र आर्थिक विकासबारे सिकाउने बताए ।

‘दुरदराजमा रहेका नयाँ होमस्टे सञ्चालक विशेष गरेर महिला दिदीबहिनी लक्षित तालिम हो’, उनले भने । उनका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीले आफ्ना जिल्लाका होमस्टे सञ्चालकलाई प्रशिक्षण दिने बताए ।

कार्यक्रममा होमस्टे महासंघ गण्डकीका संस्थापक अध्यक्ष हरि पौडेल, होमस्टे महासंघका केन्द्रिय कोषाध्यक्ष सुरज बाँस्तोला, गण्डकीका उपाध्यक्ष मोहन खनाल, सचिव कृष्ण तिमिल्सिना, राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।

१२ गतेसम्म चल्ने तालिममा गण्डकी प्रदेशभरका ३० जना बढी होमस्टे सञ्चालक सहभागी छन् ।

होमस्टे सञ्चालन गरेर खारिएका सुरज बाँस्तोला, राजकुमार लामिछाने र मनिषा श्रेष्ठले अतिथि सत्कार, वास व्यवस्थापन, पाक शिक्षा र सामाजिक विकासबारे सहजीकरण गर्नेछन् ।

प्रकाशित मिति २०८० असार १० गते आइतबार ०६:५१

हजुरको प्रतिक्रिया