बागलुङ
बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि रु. एक अर्ब ३३ करोडको बजेट ल्याएको छ ।
बागलुङ नगरपालिकाको १३ औं नगरसभा समक्ष नगरउपप्रमुख राजु खड्काले नगरपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान गण्डकी प्रदेश सरकारबाट प्राप्त हुँने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गरेका थिए ।
नगरपालिकाले संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान तर्फ रु. १५ करोड ८५ लाख, राजश्व बाँडफाँड तर्फ रु. १२ करोड ३४ लाख ७२ हजार, सशर्त अनुदान रु. ७१ करोड २६ लाख, विशेष अनुदान रु. १ करोड ३० लाख, समपुरक अनुदान रु. एक करोड ८५ लाख गरी जम्मा रु. एक अर्ब दुई करोड ६० लाख र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त रु. ६ करोड १८ लाख ८१ हजार प्राप्त हुने अनुमान गरेको छ ।
आन्तरिक राजश्व तर्फ रु. ९ करोड २४ लाख २२ हजार र अन्य आम्दानी रु. १४ करोड १७ लाख गरेर जम्मा रु. एक अर्ब ३३ करोड २१ लाख २९ हजार आय अनुमान गरी बजेट निर्माण गरिएको नगर उपप्रमुख राजु खड्काले बताए ।
नगरस्तरीय पूर्वाधार निर्माण गर्न रु. २ करोड ५० लाख, पशु विकासका लागि रु. ११ लाख ५० हजार, स्वास्थ्यका लागि रु.एक करोड ५३ लाख ५० हजार आयुर्वेद शाखाका लागि रु. तीन लाख, न्यायिक समितिका लागि रु.सात लाख र सामाजिक विकासका लागि रु. ७४ लाख ५० हजार, शिक्षा युवा तथा खेलकूद विकासका लागि रु. २ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै कृषि क्षेत्रको विकासका लागि रु. १८ लाख, सहकारी प्रर्बद्धनका लागि रु. ४ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । नगरपालिकाले कृषि तथा पशु क्षेत्रका लागि रु. १ करोड ७ लाख, खुसी महिला र बाल बचाउ कार्यक्रममा रु. १५ लाख, उपप्रमुख पर्यटन विकास कार्यक्रमका लागि रु. ४० लाख, एक वडा एक नमूना पूर्वाधार निर्माण गर्न रु. ४० लाख, फोहोर व्यवस्थापनका लागि ८४ लाख र जिरो वेष्ट फोहोर कार्यक्रमका लागि रु. एक करोड २० लाख विनियोजन गरिएको छ ।
बजार क्षेत्रमा बत्ती जडानका लागि रु. ३५ लाख, ग्रिन रोड निर्माण गर्न रु. १० लाख, नगर छोरी कार्यक्रम अन्र्तगत छोरी जन्मने वित्तिकै पाँच हजारको मुद्दती खाता सञ्चालनका लागि रु. १५ लाख, बालमैत्री नगरपालिका बनाउन रु. १ करोड २५ लाख, छाडा कुकुर व्यवस्थापनका लागि डग होस्टेल कार्यक्रम गर्न रु.१५ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाले वाटर बैंक सञ्चालनका लागि रु. १२ लाख, पार्कीङ व्यवस्थापन गर्न रु. १० लाख, पूर्वाधार एम्बुलेन्सका लागि २० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले धौलागिरी अस्पाताललाई २०० शैयाको अस्पताल बनाउन आवश्यक पहल गर्ने, विद्यालय नर्स कार्यक्रम प्रभावकारी बनाउने, स्थानीय मदिरा ब्राण्ड गर्ने, गोरुपालक किसानलाई प्रोत्साहन गर्ने र बाँझो जग्गा व्यवस्थापन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।
प्रकाशित मिति २०८० असार १० गते आइतबार ०६:०७




