पोखरा
जलकुम्भी झारले ढाकिएर पोखराको फेवाताल कुरुप बनेको छ । मोहनी लगाउने फेवाताल जलकुम्भीले ढपक्कै छोपेपछि डुंगा सयर गर्न आएका पर्यटक नाक खुम्चाउँदै फर्कन बाध्य छन् ।
वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि बाराहीघाटसम्मको क्षेत्र बढी कुरुप देखिन्छ ।
शनिबारसम्म यो क्षेत्र सफाचट थियो । माथिल्लो क्षेत्रमा फुलेका जलकुम्भीले त सामाजिक सञ्जाल प्रयोगकर्ता पर्यटकलाई तानेको थियो ।

लगातारको वर्षाले जलकुम्भी बगाएर तल्ल्लो क्षेत्रमा ल्याएपछि डुंगा चलाउन समेत अफ्ठ्यारो पारेको छ ।
पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने फेवाताल जलकुम्भीले कुरुप बन्दा पोखरा महानगरपालिकाले करोड बढी खर्च गरेर ल्याएको जलकुम्भी झार निकाल्ने मेसिन भने प्रयोगवीहिन जस्तै छ ।
२०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरेर १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो ।
मेसिन त्यतिधेरै प्रयोगमा आउन सकेको छैन । जलकुम्भी झार निकालेर कम्पोष्ट मल बनाउन क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याएर फेवातालमा राखिएको छ ।

गतवर्ष बर्खा सकिने बेला पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ महाअभियान चलाएको थियो । विभिन्न संघसंस्थासँग सहकार्यमा चलेको महाअभियानमा मेसिन बिग्रदा हातैले जलकुम्भी झार निकालियो ।
यसपालि पनि फेवातालको जलकुम्भी निकाल्न महाअभियान सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए ।
‘फेवाताल सफा गर्ने क्रम जारी छ । यो वर्षपनि सरसफाइ अभियान अगाडि बढाउँछौं’, उनले भने ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले असार २ गते फेवातालको खपौदी ढल्केबर क्षेत्रबाट जलकुुम्भी झार निकालेको थियो ।

त्यअगाडि जेठ २७ गते खपौदीको ल्यान्डिङ जोनमा शिसा र प्लाष्टिकजन्य फोहोर सफा गरेको थियो ।
समयमै महानगरले सरसफाई गरेको भए फेवाताल कुरुप नबन्ने महाअभियानका संयोजक रामबहादुर पौडेलले बताए ।
‘बर्खा सुरु हुन अगावै हामीले जलारी समुदायलाई दैनिक ज्यालादारीमा काममा लगाउँ भन्दै सफाइ अभियान सुरु गरेका थियौं । जलारी समुदायलाई काममा लगाउनुस भनेर मेयरसापसँग सल्लाहा गर्दा उहाँले हुन्छ भन्नुभयो’, उनले भने, ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ३ दिनमै रोक्न लगाउनुभयो ।’
पौडेलले थपे, ‘३ दिनमा काम नरोकि निरन्तरता दिएको भए अहिले जलकुम्भी झार यसरी फेवातालमा देख्न पाइनथेन ।’









प्रकाशित मिति २०८० असार १२ गते मंगलबार ०२:४१




