२०८३ साउन २१ गते बिहीबार

सांसदको दुःख–मनाउ : सरकारले गर्दा जिल्लामा ‘मुख देखाउने’लायक भइनँ (भिडियो)

सांसदको दुःख–मनाउ : सरकारले गर्दा जिल्लामा ‘मुख देखाउने’लायक भइनँ (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १३ गते बुधबार ०५:५९

‘मन्त्रालय गइरहन पर्दैन, घेराबन्दी हाल्न पर्दैन भन्ने थियो । न्यायका लागि गोरखा जानपर्छ भन्ने मनमा ताजा थियो,’ उनले थपिन्, ‘मुख्यमन्त्रीज्यू केही गर्नुहुन्छ, गर्न आउनुभएको हो भनेर हिँडेको मान्छे हुँ । आज हेर्नुस्, त्यो जिल्ला (नवलपुर)मा मुख देखाउनेलायक सरकार र सदनबाट हुन पाइनँ ।’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ल्याएको बजेटको मन्त्रालयगत छलफल जारी छ ।

बुधबार मन्त्रालयगत र प्रतिष्ठानसँग सम्बन्धित विषयको छलफलमा भाग लिन रोष्ट्रम उक्लिएकी प्रतिपक्षी दल राप्रपा प्रमुख सचेतक बिन्दु अधिकारी पहाडी मन्त्री र सरकारमाथि खनिइन् ।

आफूले भनेका योजना नपरेको भन्दै उनले संसदमै भावकु भएर प्रदेश सरकार र मन्त्रीसँग दुःख मनाउ गरिन् । उनले आफूले भनेकामध्ये ऊर्जा मन्त्रालयबाट १५ लाख रुपैयाँको मात्र योजना परेको सुनाइन् । आफू मन्त्रीकहाँ नगएकाले भेदभाव गरिएको उनले बताइन् ।

गृह जिल्ला नवलपुरमा सरकारले आफूलाई ‘मुख देखाउन’लायक पनि सरकारले नछोडेको भन्दै दुःखेसो पोखिन् । ‘मन्त्रालय गइरहन पर्दैन, घेराबन्दी हाल्न पर्दैन भन्ने थियो । न्यायका लागि गोरखा जानपर्छ भन्ने मनमा ताजा थियो,’ उनले थपिन्, ‘मुख्यमन्त्रीज्यू केही गर्नुहुन्छ, गर्न आउनुभएको हो भनेर हिँडेको मान्छे हुँ । आज हेर्नुस्, त्यो जिल्ला (नवलपुर)मा मुख देखाउनेलायक सरकार र सदनबाट हुन पाइनँ ।’

उनले एउटा मन्त्रालयले एउटा योजना दिएको भए चित्त बुझाउने बाटो हुने बताइन् । बजेट नपरेपछि रिसाएकी प्रमुख सचेतक पहाडी मन्त्रालय कसैको पेवा होइन भन्दै कड्किइन् । उनले सरकारमा गएपछि हिजो निकट भएकाहरुले पनि अहिले वास्ता नगर्ने गरेकोसम्म सुनाइन् । ‘माननीय मन्त्रीज्यू तपाईंहरुले जग्गा बेच्नुभएको हो कि घरबाट ल्याएको सम्पत्ति हो कि कार्यकर्ता पाल्ने थलो हो ? बिडम्बना छ, अरु सरकारले यति तल निकृष्ट काम गर्न सक्दैन,’ उनले रोष पोखिन् ।

नवलपुरमा एक अर्ब ८६ करोड रुपैयाँ जाँदा देवचुली नगरपालिका–१७ मा मात्रै पाँच वटा योजना परेको पहाडीले सुनाइन् । यो वडा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीको वडा हो । पहाडीले संसदमै भनिन्, ‘मेरो जिल्लाबासी मन्त्री कहाँ जानुभएछ कुन्नि ? हिजो त विन्दु बहिनी के छ भन्नुहुन्थ्यो, आजकल त बोल्दा पनि बोल्नुहुन्न । जिल्लाबासी मन्त्री भइरहँदा त्यो जिल्लाको मान्छेले त भन्छ नि ।’

१३ दिनअघि बजेटलाई ‘राम्रो’ भनेकी प्रमुख सचेतक पहाडी गुनासै–गुनासो गरेर बुधबार रोष्ट्रमबाट बिदा भएकी थिइन् ।

प्रकाशित मिति २०८० असार १३ गते बुधबार ०५:५९
हजुरको प्रतिक्रिया