वडाध्यक्षले उपभोक्ता समिति अध्यक्षमाथि हातपात गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ वडा कार्यालयमा नेकपा एमालेले मंगलबारदेखि तालाबन्दी गरेको छ ।
नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार राजीनामा माग गर्दै ८ को वडा कार्यालयमा तालाबन्दी गरेको हो । पीडितले न्याय नपाएसम्म वडा कार्यालय नखुल्ने एमालेले जनाएको छ ।
तालाबन्दीपछि वडा कार्यालयमार्फत हुने कामकारवाही प्रभावित भएको भन्दै गाउँपालिकाले दुवै पक्षलाई वार्ताका लागि आग्रह गरेको छ ।
वडा कार्यालयमा तालाबन्दी भएपछि गाउँपालिकाले ‘सिर्जित समस्यालाई राजनीतिक रुप’ नदिन आग्रह गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

गाउँपालिका प्रवक्ता गणेश आचार्यको हस्ताक्षरमा सार्वजनिक भएको विज्ञप्तिमा आन्दोनरत पक्षलाई छलफलमा आउन आग्रह गरिएको छ ।
वडा कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रवाह अवरुद्ध हुन पुगेको र आर्थिक वर्षको अन्त्यमा वडा कार्यालयमार्फत प्रवाह गर्नुपर्ने सिफारिस, अनुगमन, मूल्यांकन लगायत काम प्रभावित बन्न पुगेको गाउँपालिका प्रवक्ता आचार्यले बताएका छन् ।
माछापुचछ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले स्थानीय एक आयोजनाका उपभोक्ता समिति अध्यक्षमाथि कुटपीट गरेपछि नेकपा एमालेले मंगलबारदेखि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
खोराको मुख–उपल्लो इदी खोलासम्मको मोटरबाटो उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीले वडाध्यक्ष रामबहादुर गुरुङमाथि आइतबार आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका थिए ।
कुटपीटको आरोप लागेका वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
यसअघि पनि उनले आफ्नै वडामा कार्यरत सब–इन्जिनियरमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो ।
प्रकाशित मिति २०८० असार २० गते बुधबार १२:१३




