२०८३ साउन २१ गते बिहीबार

कास्कीमा लाइसेन्स नवीकरण अब अनलाइनबाटै

कास्कीमा लाइसेन्स नवीकरण अब अनलाइनबाटै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २० गते बुधबार ०६:४९

संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गण्डकीका मन्त्री रेशमबहादुर जुग्जालीले संयुक्तरुपमा उद्घाटन गरे ।

लाइसेन्स सम्बन्धी सफ्टवेयर प्रदेशलाई दिन मन्त्री जुग्जालीको माग

 पोखरा

कास्कीमा बुधबारदेखि अनलाइनबाटै लाइसेन्स नवीकरण शुल्क तिर्ने व्यवस्था सुरु भएको छ । यातायात क्षेत्र सुधारको प्रयास गरिररहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात विभागले बुधबारदेखि लाइसेन्स नवीकरण शुल्क अनलाइनबाटै तिर्न पाउने व्यवस्था गरेको हो ।

संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गण्डकीका मन्त्री रेशमबहादुर जुग्जालीले संयुक्तरुपमा उद्घाटन गरे । उद्घाटनपछि मन्त्री ज्वालाले यातायात क्षेत्रलाई व्यवस्थित बनाउने क्रममा नवीकरण शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था गण्डकीबाट मिलाइएको र अन्य प्रदेशमा पनि क्रमश लगिने बताए । यातायात कार्यालयप्रति नागरिकको धेरै गुनासो रहने र त्यो हटाउनका लागि विभिन्न योजनाहरु अगाडि सारिएको मन्त्री ज्वालाको भनाइ थियो । कानुनी जटिलता सहज गराउन पनि संघीय सरकार लागिरहेको ज्वालाले बताए ।

गण्डकीका यातायात मन्त्री जुग्जालीले भीडभाड कम गर्नका लागि सेवा प्रवाह पनि ८ बजेटबाटै सुरु गरिएको बताए । नवीकरण लगायतका सेवा प्रवाह पनि अनलाइनबाटै भएपछि झनै सहज हुने जुग्जालीको भनाइ छ ।
कास्कीमा सबै ढड्डा र फाइलहरुलाई अनलाइन सिस्टममा लैजाने काम भइरहेको छ । बायोमेट्रिकबाहेक भौतिक हिसाबमा कार्यालयमा उपस्थित हुन नपर्ने गरी मिलाउन लागिएको मन्त्री जुग्जालीले बताए । यायातायात कार्यालयमा विचौलिया, ढिलासुस्ती हुने हिजोका आरोपहरु कास्कीमा एक हिसाबले उन्मुलन नै भएको मन्त्रीको भनाइ छ ।

लाइसेन्स नवीकरणको शुल्क अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्थाको उद्घाटन गर्दै मन्त्री जुग्जाली संघीय सरकारले केही कानुनी जटिलता पनि हल गरिदिनुपर्ने बताए ।
यातायात क्षेत्रको समस्या समाधानका लागि साउनको पहिलो हप्ता नै संघीयसहित प्रदेशका यातायात मन्त्रीहरुको भेला गर्न लागिएको पनि मन्त्री जुग्जालीको भनाइ थियो । लाइसेन्स एप्लिकेसन सफ्टवेयर, लाइसेन्स सम्बन्धी इडिएलभिआरएस सफ्टवेयर र सवारी व्यवस्थापन सम्बन्धी सफ्टवेयर अहिले पनि केन्द्रकै मातहतमा छ । जसका कारण समस्या सिर्जना भएको र त्यो प्रदेशलाई हस्तान्तरण गर्न मन्त्री जुग्जालीले आग्रह गरे । लाइसेन्स छपाइको व्यवस्था पनि प्रदेशमै गर्ने गरी छलफल भइरहेको मन्त्री जुग्जालीले बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव टीका पौडेलले देशभरबाट लाइसेन्स लिन ९ लाख जना पर्खाइमा रहेको जानकारी दिए । भौतिक मन्त्रालयका सचिव तुलसीराम भट्टराईले गण्डकीले यातायात क्षेत्र सुधारमा देशकै नेतृत्व गरेको बताए ।

अनलाइन नवीकरणका लागि यो लिंकमा  https://applydl.dotm.gov.np/login जानुपर्नेछ  ।

प्रकाशित मिति २०८० असार २० गते बुधबार ०६:४९
हजुरको प्रतिक्रिया