पोखरामा सहकारीका नाममा लुट मच्चाउनेको गिरोह नै सक्रिय
पोखरा
केही सहकारीको बद्मासीका कारण वित्तीय अराजकता बढेको र ऋण उठानसमेत अन्य सहकारीलाई समस्या परेको देखिएको छ ।
अहिले इमेज, सूर्यदर्शन, शिव शिखरलगायत एक दर्जनभन्दा बढी सहकारीमा अहिले आर्थिक अपचलन भएको पाइएको छ । इमेज सहकारीका संस्थापकसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली त फरार नै छन् भने उनीमाथि अहिले कास्कीमा मात्रै करिब एक अर्ब अपचलन गरेको पाइएको छ । अन्य केही सहकारीका बचतकर्ताले पनि आफ्नो रकम हिनामिना भएको भन्दै आन्दोलनदेखि उजुरबाजुरसम्म गरिरहेका छन् ।
पोखरा महानगर मातहत अहिले ३ सय ६८ सहकारी छन् । अहिलेको आर्थिक संकटको मौका छोपि नाजायज फाइदा उठाउन लागिएकाले सहजीकरण गरिदिन भन्दै पोखरा महानगरले सूचना नै जारी गरेको छ । समाजमा अहिले ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु देखिएको सहकारी शाखा प्रमुख भरतराज पौडेलले बताए । केही समूहले भने सहकारीका नाममा लुट मच्चाइरहेको पौडेलको भनाइ छ ।
यही अराजकताको मौकामा कोही कसैले आफूले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैंका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न हदैसम्म कठोर कानुनी कारबाही गरिने पौडेलले बताए । पोखरा महानगर मातहत सहकारी रहे पनि नियमनका लागि सिमितता हुँदा समस्या परेको र अनुगमन तथा उजुरीका आधारमा सहकारी र बचतकर्ता तथा ऋणीहरुलाई निर्देशनसमेत जारी गरिएको पौडेलले बताए ।
मातहतका सहकारीलाई १५ दिन भित्र विवरण पेशे गर्न पनि महानगरले निर्देशन जारी गरेको छ ।
प्रकाशित मिति २०८० असार २६ गते मंगलबार १०:०८




