पोखरा
पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको पुरानो आकार खोज्न टोली गठन गरेको छ ।
अमिन वासुदेवको पौडेलको नेतृत्वमा टोली गठन गरेर पोखरा बुधबारदेखि खोलाको पुरानो बाटो सीमांकन गरिने महानगरले जानकारी दिएको छ ।
महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन टोली गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए ।
‘भोलिबाटै उहाँहरु २ टिम भएर फिल्डमा खटिनुहुन्छ । भूगोल र अवस्था हेरेर टिम बढाउन पनि सकिन्छ,’ उनले भने ।
महानगरका अनुसार हाललाई मापदण्ड नभई तालको सीमांकनमात्रै गर्न लागिएको हो ।
मापदण्डबारे विवाद रहेकाले सुरुमा खोलाको पुरानो आकारको मात्रै खोजी गरिने स्वकीय सचिव लामाको भनाइ छ ।
उनले भने, ‘मापदण्डको विषयमा महानगरबाट निर्णय नभएकाले अहिले खोलाको वास्तविक आकारमात्रै नाप्ने हो ।’
फिर्के सीमांकन टोली का संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने जानकारी दिए ।
‘बर्खामासमा काम गर्न गर्न गाह्रो हुन्छ, कतिबेला पानी पर्छ, खोलाले ठूलो आकार लिन्छ भन्ने थाहै हुँदैन,’ पौडेलले भने, ‘कतै ४० मिटर, कतै १० मिटर भन्ने जानकारीमा आएको छ । खोलाको चौडाइ नापेपछिमात्रै वास्तविक आकार थाहा होला !’
जानकारहरुका अनुसार ४० मिटरसम्म फैलिएको यो खोला अतिक्रमण गरेर खोलामाथि नै संरचना ठड्याउँदा कतै अस्तित्व नै देखिँदैन ।
केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै एक लायन्स क्लब र एउटा धार्मिक समितिले व्यापारिक भवन बनाएका छन् ।
पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर पस्र्याङ, मालेपटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्केखोला लामो समयदेखि मापदण्ड १० मिटर कायम छ ।
तर, उक्त मापदण्ड लागू गर्न नसक्दा फिर्केखोला मिचिनेमात्रै होइन, बीचबीचमा ‘गायब’समेत भएको छ ।
फिर्केखोलाको मापदण्ड ५ मिटर आधार मानेर निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा रेखांकन प्रतिवेदन तयार पारिएको थियो ।
उक्त प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो ।
फिर्केको १० मिटर मापदण्ड भए पनि तत्कालीन समयमा ५ मिटरलाई नै आधार बनाइएको थियो ।
जसमा फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो ।
हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर सिसिँदा दुर्घन्धित बनेको छ ।
प्रकाशित मिति २०८० साउन २ गते मंगलबार ०४:५१




