२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा २ हजार २८४ गाइभैंसी लम्पी स्किनले मरे

गण्डकीमा २ हजार २८४ गाइभैंसी लम्पी स्किनले मरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १२ गते शुक्रबार ०८:१८

२७ हजार ११८ पशु निको हुँदा ३१ हजार ८६४ पशु अझै संक्रमित छन् ।

पोखरा

शुक्रबार दिउँसो अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीमा आबद्ध किसानका नेता पोखराको पृथ्वीचोकमा भेला भए । उनीहरु भेला भएका थिए, लम्पी स्किनलाई महामारीको रुपमा घोषणा गर्न सरकारलाई दबाब दिदै बिरोध प्रर्दशन जनाउन ।

१२ बज्ने वित्तिकै पृथ्वीचोकको दायाँतर्फबाट ‘लम्पी स्किनलाई महामारी घोषणा गरियोस्’, ‘किसानलाई राहत दे’, ‘बिमालाई सुनिश्चित गरियोस्’, ‘बिमा कम्पनीले भुक्तानी गर’, लगायतका नारा घन्काउँदै सडकको बीचमा एक हूल पुगे ।

विरोध प्रदर्शनमा आएका किसानका नेताले चक्काजाम गरेरै केही बेर नाराबाजी गर्न चाहान्थे । ब्यानरसहित सडक कब्जा गर्न प्रयास पनि गरे । तर, प्रहरीले भने गन्तव्यमा हिँडेका सवारीलाई पृथ्वीचोक पार गराउने तारतम्य मिलाउँदै थियो ।
सवारी रोक्नुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोवद्र्धन गौली सडकमै लम्पसार परेर सुते । एक पटक मात्रै होइन प्रहरीले धरपकड गर्न थालेपछि उनी पटक पटक सडकमै सुतेरै नारा लगाउथे ।आधा घण्टासम्म पृथ्वीचोकमा किसानका नेताले नाराबाजी लगाए ।

लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर द्रुत गतिमा उपचारद्वारा नियन्त्रण गर्न अखिल नेपाल किसान महासंघ गण्डकीका अध्यक्ष गोवद्र्वन गौलीको माग छ । किसानलाई रहात, क्षतिपूर्ति र पुर्नस्थापनासहित रहातको प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

मरेका पशुको बिमा भुक्तानी तत्काल गर्नुपर्ने मागसमेत गौलीले गरे । ‘लम्पी स्किन भन्ने डर लाग्दो महामारीको रोग हो । यो रोग किसानका गाइवस्तु समाप्त भएका छन्’, उनले भने, समाप्त भएको अवस्थामा न सरकारले क्षतिपूर्ति दिएको छ न किसानले बिमा गरेको बिमा कम्पनीहरुले रहात दिएको छ ।’

उनले किसान दोहोरो मारमा परेको गुनासो गरे । सरकारले सम्बोधन गरेर बिमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने उनको माग छ । कृषिमा क्रान्ति नभइन्जेल देशमा समृद्वि नआउने गौलीको दाबी छ ।

गण्डकीमा हालसम्म ५८ हजार ९८२ गाइभैसी लम्पी स्किनबाट संक्रमित भएको कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपंछी विकास महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार गण्डकीमा २ हजार २८४ गाइबस्तु मरेका छन् ।

२७ हजार ११८ पशु निको हुँदा ३१ हजार ८६४ पशु अझै संक्रमित छन् । १ लाख ३ हजार २३० गाइबस्तुलाई लम्पी स्किनविरुद्वको खोप लगाइएको उनले बताए ।

गण्डकी प्रदेशका ११ जिल्लामै लम्पी स्किन फैलिएको छ । मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङको नापाभूमि गाउँपालिकाबाहेक ८२ वटा स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको छ ।

सबैभन्दा बढी गोरखाका १६ हजार ९९६ र कम मनाङका ११ पशुचौपाय लम्पी स्किनबाट संक्रमित भएका छन् ।

‘मनाङमा चौरीमा पनि संक्रमण देखिएको थियो । अहिले निको भएका छन’, उनले भने, ‘पछिल्लो समय प्रदेश भर नै संक्रमणदर घटिरहेपनि नियन्त्रणमा भने आउन सकेको छैन ।’

प्रकाशित मिति २०८० साउन १२ गते शुक्रबार ०८:१८
हजुरको प्रतिक्रिया