पोखरा
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस । ‘बेचबिखनका हरेक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गर्ने गरिएको छ । एक प्रतिवेदन अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न देशमा बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम पनि बढाएको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौं मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।
मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएकोमा यो क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरुले जोड दिएका छन् ।
प्रकाशित मिति २०८० साउन १४ गते आइतबार ०७:३६




